दार्चुला सदरमुकाममा निर्माण भएका संरचना कमजोर भएकाले भूकम्पको उच्च जोखिममा परेको एक अध्ययनले देखाएको छ ।
सदरमुकाम खलङ्गामा बाक्लो बस्ती रहेकाले तथा यसअघि निर्माण भएका अधिकांश व्यक्तिगत घरको बनावट पनि कमजोर रहेको अपि नगरपालिकाको पछिल्लोे अध्ययनले देखाएको नगरपालिकाका इन्जिनियर महेन्द्र सिंहले बताए ।
उनले भने, ‘ढुङ्गा माटोबाट बनेको पुराना घरभन्दा अहिले बनिरहेका घर बढी असुरक्षित रहेको र अधिकांश घर सानो जमिनमा चार-पाँचतले बनाउने प्रवृत्तिले जोखिम बढेको हो ।’
दार्चुलामा साना किसिमका भूकम्पको धक्का महिनामा दुई-तीनपटक आइरहने बताउँदै इन्जिनियर सिंहले भने, ‘यहाँको भू-बनावट पनि कमजोर रहेकाले संरचना निर्माण गर्दा नगरवासी सबैले भवन निर्माण आचारसंहिताको पालना गर्नुपर्नेछ ।
भवन निर्माणसम्बन्धी आचारसंहितालाई कडाइका साथ लागू गर्ने नगरपालिकाले जनाएको छ । सार्वजनिक क्षेत्राधिकारभित्र बनेका गैरकानुनी संरचना हटाइने नगरपालिकाका निमित्त कार्यकारी अधिकृत वीरेन्द्रसिंह धामीले बताए । ‘दार्चुला भूकम्पको उच्च जोखिममा रहेको छ,’ उनले भने, ‘घर निर्माण गर्दा भूकम्प प्रतिरोधी मात्रै निर्माण गरौँ ।’ (रासस)