चालु आर्थिक वर्षको पाँच महिनाभित्र जुम्लाबाट ४३८ युवा विदेसिएका छन्। पछिल्लो समयमा हिमाली जिल्लामा यो क्रम तीव्ररुपमा बढिरहेको छ।
विदेसिने युवामा द्रुत गतिमा राहदानी लिनेको सङ्ख्या २८८ र जिल्ला प्रक्रियाबाट यो लिनेको सङ्ख्या १५० पुगेको प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले जानकारी दिए। प्रजिअ पौडेलका अनुसार जिल्ला प्रक्रियाबाट विदेसिने युवाबाट सात लाख ५० हजार राजस्व सङ्कलन भएको छ। द्रुत गतिबाट लिनेबाट भने राजस्व मात्रै २८ लाख ८० हजार जम्मा भएको उनको भनाइ छ।
यसअघि भारतमा पैसा कमाउन जाने हिमाली संस्कृति विस्तारै कम भएपनि केही वर्षयता हिमाली जिल्लाका युवा समुद्रपारिका देशमा जाने क्रम निकै बढेको छ। ‘नेपालीलाई विदेशमा ज्यानको जोखिम छ भन्ने थाह छ, विडम्बना, राज्यले रोजगारी उपलब्ध नगरे कमाउने बेला स्वदेशमा बसेर के गर्नु?’ त्यसैले रहरभन्दा पनि बाध्यताले विदेश हान्निन थालेको लाम्रा-४ विष्णुकान्त चौलागाईंले बताए।
देपालगाउँ-१ जुम्लाका भीमप्रसाद धितालले स्वदेशमा पढेर पनि रोजगारी पाउन गाह्रो भएकाले विदेसिनु परेको बताए ।
हिमाली जिल्लाबाट पढेलेखेका र निरक्षर युवाको विदेसिने क्रम उस्तै उस्तै देखिन्छ। विदेशमा गइसकेपछि भने निरक्षरले बढी दुःख पाएको कुडारी-४ जुम्ला स्थायी घर भई हाल रोजगारका लागि साउदी पुगेका बमबहादुर शाहीले जानकारी दिए। दुई वर्षको तथ्याङ्कलाई नियाल्दा विदेसिने महिलाको सङ्ख्या भने शून्य छ। रासस