भूकम्प प्रभावित क्षेत्रमा हिमपात भएपछि राहत, उद्धार र उपचार टोली परिचालन गरिए पनि बढी प्रभावित लाप्राक पुग्न कठिन

भूकम्प प्रभावित क्षेत्रमा हिमपात भएपछि राहत, उद्धार र उपचार टोली परिचालन गरिए पनि बढी प्रभावित लाप्राक पुग्न कठिन भएको छ । हिउँले भूकम्पपीडितका टहरा पुरिएका र भत्किएका छन् । पाल च्यातिएका छन् । जनजीवन कष्टकर बन्दै गए पनि हिउँ परेका कारण प्रभावित क्षेत्रमा टोली पुग्न नसकेको हो । ईकान्तिपुरमा समाचार छ ।  
मानवीय संकटमा परेको लाप्राक ६ स्थित गुप्सीपाखाको अस्थायी शिविरमा टोलीहरू पुग्न समस्या भएको प्रहरी निरीक्षक शंकर आचार्यले जानकारी दिए । बारपाकदेखि लाप्राक हुँदै गुम्दा जोड्ने कच्ची सडकमा हिउँ जमेका कारण बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि हिँडेर आउजाउ गर्नसमेत नसकिएको बारपाकबाट फर्किएका कांग्रेस जिल्ला सभापति हरिबहादुर घलेले बताए । न्यानो कपडा वितरण गर्न गएका सवारी साधन र गैरसरकारी संघ-संस्थाका प्रतिनिधिहरूसमेत अलपत्र परेका छन् । उनीहरूकै उद्धारका लागि पनि टोली परिचालन गरिएको छ ।
नेपाली सेना र गृह मन्त्रालयको टोलीले हिमपात क्षेत्रको निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले जानकारी दिए । मन्त्रालयका सहसविच रामेश्वर दंगालको नेतृत्वमा टोली हेलिकप्टरबाट गुप्सीपाखा पुगेर राजधानी फर्किएको हो । स्थानीयवासीले टोलीसँग तत्कालका लागि चिसोबाट बच्ने उपाय गरिदिन अनुरोध गरेको दंगाललाई उद्धृत गर्दै प्रजिअ तिमल्सेनाले बताए । स्थायी बसोबासको प्रबन्ध मिलाइदिन पनि पीडितले माग गरेका छन् । उत्तरी क्षेत्रको टेलिफोन सेवासमेत विच्छेद भएकाले हिमपात क्षेत्र सम्पर्कविहीनजस्तै भएका छन् ।
बारपाक प्रहरी चौकीबाट असई कुलबहादुर अधिकारीसहित ५ जनाको टोली आइतबार बिहानै लाप्राकतर्फ पठाइएको आचार्यले बताए । ‘टेलिफोन अवरुद्ध भएपछि प्रहरीकै अवस्था पनि थाहा हुन सकेको छैन,’ उनले भने । नेपाली सेनाको मुख्यालयबाट स्वास्थ्यकर्मीको टोलीसहित आवश्यकता मूल्यांकन टोली गुप्सीपाखा पुगेको भैरवी दलका गणपति शिवराज पन्तले जानकारी दिए । मौसम खराब भएका कारण न्यानो कपडासहित राहत सामग्री बोकेको हेलिकप्टर पनि उड्न नसकेको उनले बताए ।