राष्ट्रिय पुनःर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित संरचनाहरुको पुनःनिर्माणका लागि बुधबार तीन महिने योजना सार्वजनिक गरेको छ ।
यही माघ २ गते भूकम्प सुरक्षा दिवसको अवसर पारेर प्राधिकरणले पुनःनिर्माण महाअभियान सन्चालन गर्न लागेको छ ।
तीन महिने योजनामा गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले ध्वस्त बनाएका भवन तथा भूकम्पबाट प्रभावित मानिसहरुको सर्वेक्षण गरिसक्ने कार्यक्रम रहेको छ ।
यस्तै, प्रत्येक जिल्लाका कम्तिमा पाँचओटा गाविस वा नगरपालिकामा व्यक्तिगत आवास निर्माणको काम पनि प्रारम्भ गरिसक्ने पनि योजना पनि रहेको छ ।
साथै, प्रत्येक गाविसमा एकजना इन्जिनियर, एकजना सामाजिक परिचालक र एकजना तालिम प्राप्त निर्माणकर्मी खटाउने र प्रत्येक जिल्लाका दुई स्थानमा स्रोत केन्द्र पनि स्थापना गरिनेछ ।
राष्ट्रिय पुनःनिर्माण परामर्श परिषदको बुधबार बसेको पहिलो बैठकमा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावलीले पुनःनिर्माणकार्यको पञ्चवर्षीय कार्ययोजना तयार पारी कार्यान्वयनमा ल्याउने जानकारी पनि दिए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणले आफ्नो कामलाई द्रुत गतिमा अघि बढाउन निर्देशन दिएका थिए । इमेजखबरमा समाचार छ ।