भौतिक पूर्वाधार तयार भइसकेका विमानस्थलहरु ३ महिनाभित्रै सञ्चालन गर्न सरकारलाई निर्देशन

व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भौतिक पूर्वाधार तयार भइसकेका विमानस्थलहरु ३ महिनाभित्रै सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले पूर्वाधार तयार नभएका विमानस्थलको भने स्थलगत अध्ययन गरि एक महिनाभित्रै प्रतिवेदन पेश गर्न संस्कृति, पर्यटन तथा नागरिक  उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।
यसैगरी समितिले विमान सञ्चालनमा आवश्यक पर्ने इन्धनको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक  उड्डयन मन्त्रालयका सचिव दिनेश थपलियाले देशका ५० वटा विमानस्थल मध्ये विभिन्न कठिनाईका कारण १६ वटा विमानस्थलहरु वन्द अवस्थामा रहेको जानकारी दिँदै बन्द रहेका विमानस्थलहरु पुनः सञ्चालनका लागि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरि रहेको बताए । उनले थप ६ वटा नयाँ विमानस्थल पनि बन्न लागेको जानकारी दिए ।
मन्त्रालयले राजविराज विमानस्थलको स्तरोन्नतिका लागि ९ करोड ५० लाख रुपैयाँ विनियोजन भइसकेको र छिट्टै कालोपत्रे गर्ने तयारी भइरहेको जनाएको छ । समितिका सदस्यहरुले नाफामुखि भन्दा सेवामुखि भई दुर्गम क्षेत्रमा नियमित उडान गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।  इमेजखबरमा समाचार छ ।