कक्षा ११ को नतिजा प्रकाशित, ४९.२ प्रतिशत उत्तीर्ण, मौका परीक्षा माघ २९ गते हुने

उच्चमाध्यामिक शिक्षा परिषद्ले कक्षा ११ को नतिजा बिहीबार प्रकाशित गरेको छ। गत असार मसान्तसम्म संचालित परीक्षामा विज्ञान,ब्यवस्थापन,मानविकी र शिक्षा संकायका गरी नियमित तर्फ कुल २ लाख ४३ हजार ७ सय ३१ ले परीक्षा दिएकोमा यस वर्ष १ लाख १९ हजार ९ सय १६ परीक्षार्थी उत्तिर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जनाए। नियमति तर्फ यस वर्ष ४९.२०प्रतिशत विद्यार्थी पास भएका हुन्। गत वर्ष कक्षा ११ मा ४७.२६ प्रतिशत मात्र पास भएका थिए । यस वर्ष १.९४ प्रतिशत नतिजा बृद्धि भएको छ।
बैशाख १२ गतेको विनाशकारी भूकम्पका बावजुद नतिजा बढ्नुलाई नियन्त्रक अर्यालले सकरात्मक रुपमा लिएका छन् ।  भूकम्पका कारण परिषद्ले यस वर्ष असार १ र असार २४ गते गरी दुई चरणमा परीक्षा संचालन गरेको थियो, नियन्त्रक अर्यालले नागरिकन्युजसँग भने, ठूलो मानसिक तनावका बाबजुद विद्यार्थीको नतिजा यस वर्ष करिब २ प्रतिशतले बृद्धि भएको छ। यो सकरात्मक पक्ष हो। उनले थपे,  अझै पनि करिब ५१ प्रतिशत विद्यार्थी फेल छन् । यस विषयमा परिषदले विश्लेषण गरी सुधारतर्फ लाग्ने छ।
परीक्षा नियन्त्रक अर्यालका अनुसार आंसिक तर्फ १ लाख २६ हजार ९ सय ३०ले परीक्षा दिएकोमा ४३ हजार ९ सय ८३ पास भएका छन् । यो ३४.६५ प्रतिशत हो । नियमित तर्फ ४ र आंसिक तर्फ ५ गरी कुल ९ परीक्षार्थीको परीक्षाको नतिजा स्थगित गरिएको छ भने ९६ परीक्षार्थी अनीयमित कार्य गरेकोले परीक्षा रद्द गरिएको उनले जनाए । एक विषयमा अनुत्तिर्ण परीक्षार्थीहरुले माघ २९ गते मौका परीक्षा दिन पाउने ब्यवस्था परीषदले तय गरेको उनले जनाए । नागरिकन्युजमा समाचार छ ।