सरकारले भूकम्प गएको झण्डै ९ महिनापछि भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि पुनर्निर्माण महाअभियान सुरु गरेको छ।
राष्ट्रिय पुनर्निमाण प्राधिकरणले १८ औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर बैशाख १२ मा गैहाल्यो भूईंचालो, सुरक्षित पुननिमार्णमा जुट्ने हाम्रो पालो भन्ने नाराका साथ शनिबारदेखि पुनर्निमाण महाअभियान सुरु गरेको हो । वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त काठमाडौंको रानीपोखरी पुगेर राष्ट्रपति विद्या भण्डारीले भुकम्प गएकै समय पारेर ११ बजेर ५६ मिनेटमा महाअभियान सुरु गरेकी हुन्। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको बुङ्मतीबाट अभियानको सुरुवात गरे।
राष्ट्रपति भण्डारीले रानीपोखरीको किनारमा वैदिक विधि पूर्वक ईंटा राखेर पुनर्निर्माण महाअभियानको शुभारम्भ गरेकी हुन्। महाअभियानको शुभारम्भ कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, प्रमुख दलका शीर्ष नेता, उच्चपदस्थ कर्मचारीहरु, कुटनीतिज्ञहरु लगायतको बाक्लो उपस्थिति थियो।
रानीपोखरीको पुनर्निमाणका लागि प्राधिकरणले काठमाडौ महानगरपालिकालाई स्वीकृति दिइसकेको छ । महानगरपालिकाले पुरातत्व विभागसँग मिलेर रानीपोखरीको पुनर्निमाणको गुरुयोजना बनाएको हो । गुरुयोजना अनुसार काम गर्न अब केही दिनभित्रै टेण्डर आव्हान गर्ने महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए।
प्राधिकरणले महाअभियान सुरु गरेपनि भूकम्पबाट क्षतिग्रस्त निजी घरहरुको पुनर्निमाणको काम भने वैशाख १२ गतेबाट मात्र सुरु हुने छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले त्यसअगाडि प्राधिकरणका क्षेत्रीय कार्यालय खोलेर भुकम्प गएकामध्ये कम्तिमा पाँच जिल्लामा संयुक्त आवासको निर्माण सुरु गर्ने बताए। उनले आउँदो वर्षापहिले नै घर बनोस् भन्ने पीडितहरुको चाहना भएपनि जनशक्तिको अभावका कारण सम्भव नरहेको बताए।
प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माणको खाकाबारे दाता सम्मेलनमा सहयोग गरेका अन्तर्राष्ट्रिय दातृ समुदायलाई जानकारी गराइसकेको जनाएको छ। अभियानको सुरुवातसँगै तीन हप्ताभित्र भूकम्प प्रभावित १४ जिल्लामा एक सय इन्जिनियर र एक सय समुदाय परिचालक गरी करिब तीन हजार तथ्यांक संकलनमा जुट्ने प्रधिकरणले जनाएको छ।
माघ महिनाभित्र सर्वेक्षण सकिएका गाविसबाट आवास निर्माणको काम अघि बढाइने प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए। सरकारले आगामी २०७३ वैशाख १२ गतेसम्ममा भूकम्प प्रभावित प्रत्येक गाविस/नगरपालिकामा पुनःनिर्माण कार्य सुरु गरिसक्ने योजना बनाएको छ। गत वैशाख १२ को भूकम्पका कारण भत्किएका संरचनाको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय समुदायले आर्थिक सहयोग र सहुलियत दरको ऋण सहायता गरी चार खर्ब १० अर्ब दिने प्रतिबद्धता जनाएका थिए।
भूकम्पका कारण ६ लाख ८ हजार १ सय ५५ घर पूर्णरुपमा ध्वस्त भएका थिए भने दुई लाख ९८ हजार ९ सय ९८ घरगोठ आंशिक रुपमा क्षति भएका थिए । सेतोपाटीमा समाचार छ ।