प्रदेशको सीमांकन हेरफेरका लागि गठन गर्ने भनिएको राजनीतिक संयन्त्रको कार्यक्षेत्रका विषयमा कुरा मिल्न सकेन

प्रदेशको सीमांकन हेरफेरका लागि गठन गर्ने भनिएको राजनीतिक संयन्त्रको कार्यक्षेत्रका विषयमा कुरा मिल्न नसकेका कारण प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको कार्यदलको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।
आइतबार सिंहदरबारमा बसेको दुई पक्षीय कार्यदलको तीन घण्टा लामो बैठकमा राजनीतिक संयन्त्रको कार्यक्षेत्रको विषयमा छलफल भएको छ। प्रमुख दलको कार्यदलमा रहेका नेताहरुले राजनीतिक संयन्त्रलाई वैधानिकता दिन कुनै समस्या नरहेको बताएपछि बैठकमा संयन्त्रको कार्यक्षेत्रका विषयमा छलफल भएको हो।
 कार्यक्षेत्र के के तोक्ने भन्ने विषयमा सहमति नजुटेका कारण आइतबार अपरान्ह बस्ने गरी बैठक स्थगित भएको छ। सहमति नजुटेपनि बैठक सहमतिको नजिक पुगेको दुवै पक्षीय कार्यदलका सदस्यहरुले बताएका छन्। उनीहरुले सम्भव भए आइतबार तथा नभए सोमबारसम्म सहमति भइसक्ने दाबी पनि गरेका छन्।
प्रमुख तीन दल र मोर्चाको कार्यदलको केही दिनयता लगातारजसो बैठक बसिरहेको छ। माघ ५ गते व्यवस्थापिका संसद्को बैठक बोलाइएकाले त्यो दिनसम्म सहमतिका लागि मोर्चाको कार्यदलका नेताहरुले सहमति जनाइसकेका छन्। माघ ५ गतेको संसद् बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने प्रमुख दलहरुको तयारी छ । सेतोपाटीमा समाचार छ ।