सद्भावनाका अध्यक्ष राजेन्द्र महतोद्वारा नाका खोल्न प्रस्ताव
माघ २१ गते, २०७२ मा प्रकाशित
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्ज-रक्सौल नाका मात्रै बन्द गरेर आन्दोलन सफल नहुने भन्दै सो नाका खोल्नुपर्ने बताएका छन् ।
भारतको बिहार पुगेर फर्किएका महतोले विहीबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नाका बन्द हुँदा वीरगन्जलगायत तराई क्षेत्रको आर्थिक अवस्था धरासायी बनेकाले नाका खोल्नुपर्ने बताए ।
महतोले अब बस्ने मोर्चाको बैठकमा नाका खोल्ने प्रस्ताव आफैंले लैजाने पनि बताए ।
नाका खोल्ने विषयमा मोर्चामा आबद्ध अन्य दलका नेताहरुलाई सकारात्मक हुन उनको आग्रह थियो ।
महतोले अधिकांश नाका सुचालु भइसकेको अवस्थामा एउटामात्र नाका बन्द गर्नुको तूक नहुने पनि उल्लेख गरे ।
नाका बन्द गरेपनि सरकारले आफूहरुका मागमा बेवास्ता गरिरहेको भन्दै सद्भावना पार्टीका अध्यक्ष महतोले आन्दोलनको स्वरुप परिवर्तन गरिने बताए । – इमेजखबरमा समाचार छ ।