अन्तत सार्वजनिक यातायातको भाडा घट्यो

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्वीकृत गरेपछि आइतबारदेखि लागू हुने गरि सावर्जनिक सवारी साधनको भाडा घटेको हो । विभागका अनुसार यात्रुवाहकमा २.५३, मालवाहक तराईमा ३.७६ र पहाडमा ३.२८ तथा ट्याक्सीमा १.६५ प्रतिशत घटेको हो ।
 
भाडा घटेसँगै स्थानिय वा उपत्यकाका रूटमा कम्तिमा १३ र बढीमा २४ रूपैयाँ हुन आएको छ । स्थानीय रूटमा पहिले १३.४९ थियो र हाल घटेर १३.०७ हुन आएको छ । यसको मतलब १३ रुपयाँ भएको छ । २५ किलो मिटरसम्म हुने स्थानीय रुटमा बढीतर्फ भने २५ बाट घटेर २४ हुन आएको छ । अब ट्याक्सीको मूल्य भने प्रतिकिलोमिटर ३६ बाट घटेर ३५ हुन आएको छ ।
 
विभागका अनुसार यसपटक वैज्ञानिक पद्धतीबाट इन्धनलाई मात्र आधार मानेर गरिएको नयाँ भाडा समायोजन गरिएको हो । नेपाल आयल निगमले माघ ४ पेट्रोल प्रतिलिटर ५ रूपैंयाँ, डिजेल र मटितेल ६/६ रुपैंयाँ घटाएको थियो । त्योसँगै पेट्रोल ९९ तथा डिजेल र मटितेल ७५ रुपैंया पुगेको छ ।
 
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट इन्धनको मूल्य कम हुँदा समेत मन्त्रालय र विभागलाई भाडा घटाउन नघटाएको भन्दै छिटो कम गर्न बिहीबार निर्देशन दिएको थियो । सरकारले अवलम्बन गर्दै आइरहेको वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको मुल्य एक पटकमा ५ रूपैयाँभन्दा कम वा बढी भएमा भाडा दर नयाँ निर्धारण गर्ने भनिएको छ ।
 
विभागले वैज्ञानिक भाडा प्रणाली अनुसार ३५ प्रतिशत इन्धन र बाँकि ६५ प्रतिशत सवारीसाधनका आवश्यक पर्ने विभिन्न पाटपुर्जा र मावनीय जनशक्तिको समेत समायोजन गरेर भाडा दर निर्धारण गर्ने नियम छ । विभागले यस अघि २०७१ भदौ २४ र माघ २६ मा पनि भाडा घटाएको थियो । तर दुवैपटक विभागले व्यवसायीलाई सम्झाएर इन्धनलाई मात्र आधार मानेर भाडा समायोजन गरेको थियो । यसपटक पनि व्यवसायीलाई सरकारले मनाएर घटेको इन्धनको मूल्यको आधारमा मात्र भाडा घटाएको हो । मन्त्रालयबाट स्वीकृत गराएपछि नयाँ भाडा दर लागु गरिने विभागले जनाएको छ ।
 
सार्वजनिक सवारी साधन र मालवाहक सवारी साधनको २०६९ साल फागुन २५ बाट सरकारले सार्वजनिक यातायातका वैज्ञानिक भाडा पद्धती सुरू गरिएको हो । २०६९ सालमा सरकारले वैज्ञानिक भाडा प्रणाली सुरू गर्दा पेट्रोलको मुल्य प्रति लिटर १ सय २३ र डिजेलको मुल्य ९९ रूपैयाँ थियो । इमेजखबरमा समाचार छ ।