पश्चिम नेपाल हुँदै प्रवेश गरेको वायुको प्रभावका कारण आज (सोमबार) देशैभर वर्षा भएको छ ।
आइतबार मध्याह्नसम्म पश्चिम नेपालमा मात्रै वर्षा भएकोमा सोमबार रातिदेखि काठमाडौंसहित मध्य तथा पूर्वी क्षेत्रका अधिकांश स्थानमा वर्षा भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले काठमाडौंसहित मध्य भागमा बेलुकीदेखि मौसममा सुधार आउने जनाएको छ । तर पूर्वी भागमा भने भोलिदेखि मात्र मौसममा सुधार आउने बताइएको छ ।
यो वर्षको हिउँदमा धेरै वर्षा भएको पहिलो पटक हो । त्यसैगरी उच्च हिमाली जिल्लाहरुमा हिमपात भएको खबर छ । हुम्लामा बाक्लो हिउँ परेको छ भने अरु जिल्लामा पनि विहानैदेखि हिमपात भएको खबर छ ।
ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा फेरि हिमपात शुरु भएको छ भने विहानैदेखि सामान्य बर्षा पनि भएको छ । हिमपातबाट जिल्लाको ओलाङ्चुङगोला, पापुङ, कालिखोला र लेलेप गाविसको याङ्मा, फले, घुन्सा, ग्याब्लालगायत स्थानको जनजीवन प्रभावित बनेको छ ।
पापुङ, कालिखोला र लेलेप गाविसको माथिल्लो क्षेत्रमा विहानैदेखि बाक्लो हिमपात भएकोे छ । अन्यत्रको तुलनामा ओलाङ्चुङगोला र लेलेप क्षेत्रमा बाक्लो हिउँ परेको छ । हिमाली क्षेत्रका स्थानीय घर बाहिर निस्कन सकेका छैनन् ।
घर पालुवा जनावरलाई दिने घास र चर्ने स्थानमै हिउँ परेकाले झनै समस्या भएको स्थानीयले बताएका छन् । जिल्लाको तल्लो क्षेत्रका वासिन्दा भने हिउँदे वर्षा भएपछि राहत मिलेको छ । इमेजखबरमा समाचार छ ।