नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि बुधबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार नै हुने भएको छ।
काँग्रेस केन्द्रीय समितिको निर्णयबमोजिम कोइरालाको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि मंगलबार पार्टी कार्यालय हुँदै मध्याह्न १२ बजेदेखि दशरथ रङ्गशालामा राखिएको छ। बुधबार अपराह्न २ बजेपछि रङ्गशालाबाट शवयात्रा गरी आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी कार्यालयले जनाएको छ।
स्व कोइरालाको दाहसंस्कार पार्टीले हालै आर्यघाटमा सञ्चालनमा आएको विद्युत् शवदाह गृहमा गरिने जनाएपनि परिवारजनको इच्छाअनुसार हिन्दू परम्पराअनुसार नै दाहसंस्कार गरिने स्व कोइरालाका भाइ अशोक कोइरालाले जानकारी दिए। स्व कोइरालालाई उनका भतिजा अतुल कोइरालाले दागबत्ती दिने परिवारजनले बताएको छ।
आज रातभर रङ्गशालामा रहने स्व कोइरालाको पार्थिव शरीरलाई काँग्रेसले नेपाल सरकारको जिम्मा दिएको पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए। कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गर्दै सरकारले आज त्यसका लागि गृहमन्त्री शक्ति बस्नेतलाई जिम्मेवारी तोकेको छ। रासस