मध्य तराईमा बन्दहडताल फिर्ता भएपछि चहलपहल बढ्यो, होटल र पसलमा ग्राहकको घुइँचो, स्थानीय ढुक्कले कामकाजमा फर्के

मध्य तराईका जिल्लामा ५ महिना लामो आन्दोलनले कष्टकर जीवन गुजार्न बाध्य सर्वसाधारण बन्दहडताल फिर्ता भएपछि पुरानै अवस्थामा दैनिकी बिताउन थालेका छन् । चहलपहल बढेको छ । कान्तिपुरमा समाचार छ ।   
स्थानीय ढुक्कले कामकाजमा फर्केका छन् । ज्यालामजदुरी सुरु भएपछि छाक टार्न सहज भएको छ । स्वास्थ्य, शिक्षा, रोजगार र उद्योग सञ्चालनमा आएका छन् । मोर्चा आबद्ध ३ दलका केन्द्रीय अध्यक्षको गृहजिल्ला सर्लाही आन्दोलन फिर्तासँगै गुल्जार भएको छ । लामो बन्द खुलेपछि जनजीवन सहज बनेको छ । जनजीवन कष्टकर हुँदै गएपछि आन्दोलनको स्वरूप बदल्न मोर्चालाई दबाब बढदै गएको थियो ।
अझै पनि ग्यास र इन्धन अभाव कायम छ । पहिलेजस्तै अवस्था भइसकेको छैन । उद्योग वाणिज्य संघ जिल्ला अध्यक्ष हरिशंकरप्रसाद साहले चहलपहलले गति समात्न केही दिन लाग्ने बताए । ‘ग्यास र इन्धन सहज भएपछि सबै थोक पहिलेकै अवस्थामा फर्कन्छ,’ उनले भने, ‘बिस्तारै सहजतातर्फ उन्मुख भइरहेको छ ।’
बन्दले यातायात र कार्यालय नचल्दा सुनसान भएको सदरमुकाम मलंगवामा जीवन फर्केजस्तो देखिएको साहले बताए । होटल र पसलमा ग्राहकको घुइँचो बढ्ने क्रम सुरु भएको छ ।
बन्द अवधिमा ठूलो आर्थिक नोक्सानी भए पनि बिस्तारै घाउ भरिने साहले बताए । महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र रायको गृहजिल्लामा मोर्चाको आन्दोलन निकै चर्किएको थियो । हजारौं स्थानीय दैनिक प्रदर्शनमा उत्रिन्थे ।
उखु काटेर चिनी मिल लैजानुपर्ने बेला बन्द हुँदा किसानले सास्ती बेहोर्नुपर्‍यो । इन्धन संकटले किसानको खर्च वृद्धि भएको थियो । ‘तेल अझै सहज नहुँदा ढुवानी भाडा घटेको छैन,’ स्थानीय किसान अक्षयलाल राउतले भने, ‘बन्द फिर्ताको औपचारिक निर्णय आइसकेकाले अब राहत हुने आशामा उत्साहित छौं ।’ बस व्यवसायी संघका अध्यक्ष शिवशंकर राय भर्खरै बन्द खुलेकाले यात्रुको चाप भने खासै नबढेको बताउँछन् । उनले इन्धन संकटका कारण ‘ब्ल्याक’ मै तेल किन्नुपरेको गुनासो गरे ।
‘लामो बन्द खुलेपछि बस व्यवसायीलाई केही राहत भएको छ,’ उनले भने, ‘तत्काल यात्रु केही कम छन् र इन्धन किन्न बढी पैसा तिर्नुपरेको छ । यातायात क्षेत्रमा काम गर्ने मजदुर पनि व्यस्त भएका छन् ।’ सरकारी कामकाज सुचारु भएपछि स्थानीयको घुइँचो आन्दोलनको केन्द्रबिन्दु सदरमुकाममा बढ्न थालेको छ । सेवाग्राहीको भीडले सदरमुकाममा चहलपहल बढेको छ ।
मजदुर खुसी
रौतहट गौर ११ का सुखल दास ठेला मजदुर हुन् । ७ वर्षदेखि उनी सदरमुकाममा मजदुरी गर्दै आएका छन् । दास मंगलबार निकै खुसी देखिए । ठेलामा हार्डवेयरका सामान राखेर गन्तव्यमा पुर्‍याउन जाँदै थिए ।
‘बल्ल काम गर्न पाएको छु,’ उनले भने । उनीलगायत गौरमा २ दर्जन ठेला मजदुर मारमा थिए । ग्राहकले मागेबमोजिमको सामान नहँुदा समस्या परेको साह ट्रेडर्सका सञ्चालक प्रेम साहले बताए । उनले भने, ‘अब बाहिरबाट सामान मगाउने तयारीमा छु ।’
बन्दले यातायात ठप्प हुँदा किराना पसलमा सामान रित्तिएर उपभोक्ता मारमा परेका थिए । संघीयता, सीमांकन र संविधानको विरोधमा ५ महिना बढी तराई मधेसमा चर्केको आन्दोलनले जनजीवन कष्टकर बनेको थियो । त्यस क्रममा आन्दोलनरत मधेसी मोर्चाले जिल्लाका सबै बजार, यातायात, शैक्षिक संघसंस्था, सरकारी कार्यालय, उद्योग, कलकारखाना बन्द गराएका थिए ।
मोर्चा संयोजक रामनिवास यादवले सही समयमा मोर्चाले यातायात, बजार, सरकारी कार्यालय बन्द र नाकामा धर्नाजस्ता कार्यक्रम स्थगित गरेको बताए । गौर बजारमा उपभोक्ताको ठूलो भीड लागेको छ । त्यस्तै गरुडा, शिवनगर, समनपुर, कटहरियालगायत बजारमा पहिलेजस्तो चहलपहल देखिएको छ । ईकान्तिपुरमा समाचार छ ।   
जनजीवन सामान्य
पर्साको वीरगन्ज नगवाका ४० वर्षीय ठेलाचालक प्रेमप्रसाद गुप्ता शनिबारयता राहत महसुस गर्दै छन् । लामो बन्दहडतालपछि जनजीवन सामान्य बन्दै गएको र बजार खुलेकाले दैनिक काम पाएको उनले बताए । ‘लामो बन्दहडतालले ७ जनाको ठूलो परिवार पाल्न गाह्रो भएको थियो,’ उनले भने, ‘अहिले केही सहज भएको छ ।’
पछिल्लो २ महिनायता मुलुकका अन्य नाका सहज भए पनि वीरगन्ज नाका भने बन्दै थियो । नाका सुचारु नहँुदा बन्दव्यापार प्रभावित थियो । शुक्रबारदेखि नाकाको अवरोध हटेसँगै जनजीवन सामान्य बन्दै गएको छ ।
आर्थिक नगरी तथा मुलुकको प्रवेशद्वार मानिने वीरगन्ज बिस्तारै पुरानै अवस्थामा फर्किंदै छ । बजार, पसल, शिक्षण संस्था, सरकारी कार्यालय खुल्दै छन् । मुलुककै सर्वाधिक ठूलो औद्योगिक करिडोर पर्सा,बारा औद्योगिक करिडोरका उद्योग क्रमश: खुल्दै गएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडिया सिर्सिया सुक्खा बन्दरगाहबाट कच्चा पदार्थ ल्याएका तथा सीमापारि रक्सौलमा कच्चा पदार्थ थन्किएर बन्द भएका उद्योगले त्यहाँबाट कच्चा पदार्थ ल्याएर उद्योग सञ्चालन गरिरहेको बताउँछन् । सीमामा कच्चा पदार्थ थन्क्याएका सिमेन्ट तथा फलाम उद्योगले धमाधम कच्चा पदार्थ उद्योगमा ल्याइरहेको उनले बताए । ईकान्तिपुरमा समाचार छ ।