बुटवलको सैनामैना नगरपालिका-१० शान्तीटोलका खगेश्वर काफ्लेको हत्या गरेको अभियोगमा तीनजनालाई पक्राउ गरी प्रहरीले विहीबार सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएकाहरुमा स्थानीय सैनामैना-१० का अर्जुन भनिने तुलसी घिमिरे र सन्दीप परियार तथा गुल्मी भुर्तुङ घर भइ सैनामैना-१० मा बस्दै आएका खिमा गिरी रहेका छन् ।
घटनालगत्तै अनुसन्धान थालेको प्रहरीले अभियुक्तहरुलाई हेटौंडाबाट पक्राउ गरेको हो ।
उनीहरुले व्यक्तिगत रिसिबीका कारण काफ्लेको हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक बृद्धिराज गुरुङले जानकारी दिए ।
अभियुक्त खिमा गिरी र बच्चु दासबीच झगडा हुँदा खगेश्वरले आमा समूह र प्रहरी बोलाइ छलफल गराएको रिसले काफ्लेको हत्या गरेको थाहा लागेको प्रहरीले जनाएको छ ।
प्रहरीले अभियुक्तहरुको साथबाट १ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने ८ राउन्ड गोली, तराई मुक्ति टाइगर लेखेको ४ थान पर्चा र लु१५प १ सय ६१ नम्बरको रातो पल्सरसमेत बरामद गरेको छ । – इमेजखबरमा समाचार छ ।