प्रधानमन्त्री ओलीद्धारा आफू भारतसँग पारस्परिक मित्रता, समझदारी र सम्मानपूर्ण सम्बन्ध बनाउने प्रयासमा रहेको उल्लेख

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका-संसदको मंगलबारको बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् ।
यही फागुन ७ गतेदेखि भारत भ्रमण सुरु हुने जानकारी गराउँदै उनले भ्रमणबाट संविधान जारी भएपछि दुई देशबीच बढेको असमझदारी हट्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले दुई ठूला छिमेकी देशहरु चीन र भारतसँग आपसी समझदारी र विश्वासको सम्बन्ध अघि बढाउन चाहेको भन्दै भारत भ्रमण पनि सोही दिशातिर उन्मुख हुने उल्लेख गरे ।
यसबीचमा नेपाल र भारतबीच केही अप्रिय घटनाहरु भएपनि आफू भारतसँग पारस्परिक मित्रता, समझदारी र सम्मानपूर्ण सम्बन्ध बनाउने प्रयासमा रहेको बताए ।
देश विस्तारै सामान्य अवस्थातिर फर्किएको भन्दै प्रधानमन्त्री ओलीले आफू भारत भ्रमणमा जानुअघि नै सीमांकनको विवाद समाधानका लागि राजनीतिक समिति गठनको प्रयास गरिरहेको जानकारी दिए ।
तीन महिनाभित्र सुझाव दिने गरी समिति गठनको प्रयास भइरहेको र छिट्टै निश्कर्षमा पुग्ने उनको भनाइ थियो ।
उनले भूकम्पछिको पुनःनिमाणको कामलाई थप तीव्रता दिइने र त्यसमा सबैपक्षको सहयोग आवश्यक पर्ने बताए ।
प्रधानमन्त्रीले १२औं दक्षिण एसियाली खेलकुदअन्तर्गत् फुटबलमा स्वर्ण पदक जित्न सफल नेपाली टिमलाई बधाइसमेत दिए ।
बैठकमा गृहमन्त्रीको तर्फबाट संसदमा बोल्दै कानुनमन्त्री अग्नि खरेलले तराईमा सुरक्षाकर्मीबाट ज्यादती गर्ने काम नभएको स्पस्ट पारे ।
यसअघि, मंगलबारै बसेको संसद बैठकमा नेकपा एमालेको तर्फबाट २०४८ र २०५६ मा बारा क्षेत्र नम्बर-२ बाट निर्वाचित सांसद सोहनप्रसाद चौधरीकोको निधनप्रति शोक प्रस्ताव पारित गरिएको थियो ।  इमेजखबरमा समाचार छ ।