भारतद्वारा यो वर्ष नेपाललाई दिने अनुदान रकममा ४० प्रतिशत कटौति

भारतले यो वर्ष नेपाललाई दिने अनुदान रकम घटाएको छ। सोमबार भारतको तल्लो सदन लोकसभामा केन्द्रीय वित्त मन्त्री अरुण जेट्लीले प्रस्तुत गरेको भारतको सन् २०१६-०१७ को बजेटमा नेपाललाई दिने रकम घटाइएको हो। भारतीय पत्रिका दि इन्डियन एक्प्रेसले भारतले नेपाललाई अनुदान दिने रकम गत वर्षभन्दा यो वर्ष ४० प्रतिशत कटौति गरको जनाएको छ।
 
भारतले गत वर्ष ४ सय २० करोड भारतीय रुपैयाँ नेपाललाई दिन  छुट्याएको थियो भने यो वर्ष ३ सय करोड भारु मात्र छुट्याएको छ।  सो पत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै गरेको भारत भ्रमणले दुई देशबीचको असमझदारी हटाएको भनेपनि उनको भ्रमणको केही दिनमै भारतले अनुदान रकम कटौति गरेको उल्लेख गरेको छ। 
 
तर भारतीय अधिकारीहरुले अनुदान कटौति हुनुमा ओली सरकारलाई अविश्वास गरेको कुरासँग सम्बन्ध नभएको तर भारतले यसअघि दिएको अनुदान रकम सबै खर्च नभएकाले अनुदान घटाइएको बताएका छन्।
 
भारतले यो वर्ष भुटान, बंगलादेश र श्रीलंकालाई दिने आर्थिक सहायतामा पनि कटौति गरेको छ।  
 
प्रधानमन्त्री ओलीले फागुन ७ देखि १२ गतेसम्म भारतको राजकीय भ्रमण गरेका थिए। उनले भ्रमणले दुई देशबीच रहेका असमझदारी हटेको बताएका थिए। सेतोपाटीमा समाचार छ ।