संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामाथि व्यापकस्तरमा नाकाबन्दी गरेको छ । व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्धसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गर्दैै परिषद्ले अहिलेसम्मकै कडा नाकाबन्दी गरेको हो ।
यो बितेको दुई दशक यताकै सबैभन्दा कठीन र कडा नाकाबन्दी भएको बताइएको छ । परमाणु परीक्षण नगर्न आफूले गरेको आग्रह नमान्दै उत्तर कोरियाले गत महिना परीक्षण गरेपछि आक्रोशित बनेको सुरक्षा परिषद्ले यो प्रस्ताव पारित गरेको हो ।
नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरिया जाने आउने सबै खाले कार्गोको सुरक्षा जाँच गरिने छ । यसबाहेक थप १६ व्यक्ति र १२ संगठनमाथि पनि प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियालाई साना र हल्का खाले हतियार बेच्न पनि प्रतिबन्ध लगाइएको छ ।
यसैबीच संयुक्त राष्ट्र संघले आफूमाथि व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेलगत्तै उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ ।
उत्तर कोरियाले आज छोटो दुरीमा मार मान्न सक्ने मिसाइल परीक्षण गरेको हो । संयुक्त राष्ट्र संघको उत्तर कोरियामाथि व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।
उत्तरले त्यसको जवाफ तत्काल मिसाइल परीक्षण गरेर दिएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाले समुद्रमा मिसाइल परीक्षण गरेको पुष्टि गरेको छ ।
राष्ट्र संघले उत्तरमाथि लगाएको नयाँ प्रतिबन्धले कोरिया प्रायद्विपमा तनाव झन बढ्ने विश्लेषण गरिएको छ । (एजेन्सी)