सुगौली सन्धिको खारेजीको माग गर्दै उत्रिएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा का ११ जना नेता-कार्यकर्ता पक्राउ परेका छन् ।
सुगौली सन्धि भएको २०० वर्ष पुगेको दिन शुक्रबार लैनचौरस्थित भारतीय राजदूतावासअगाडि प्रदर्शनमा उत्रिएका उनीहरुलाई शुक्रबार दिउँसो करिब १ बजे प्रहरीले पक्राउ गरेको हो ।
पक्राउपर्नेमा मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल, उपाध्यक्ष बिएन शर्मा, सदस्य छवि पन्थी, जगदीश लानमिछानेलगायत छन् ।
प्रदर्शनका क्रममा उनीहरुले सुगौली सन्धि मान्दैनौं, अतिक्रमित भूमि फिर्ता गरलगायतका नारा लगाएका थिए ।
अध्यक्ष नेपालले नेपालले अनाहकमा गुमाएको भूमिबारे जनतालाई जानकारी दिँदै चेतना फैलाउन प्रदर्शनमा उत्रिएको बताए ।
रासससँग कुरा गर्दै उनले भने-हामी यो समस्या कूटनीतिक तरिकाले समाधान होस् भन्ने चाहन्छौं, तसर्थ बेलायत सरकारको मध्यस्थतामा सरकारले भारत सरकारसँग यसबारे कुरा गर्नुपर्छ ।
उनले समस्या समाधान नभएसम्म आफ्नो आन्दोलन जारी राख्ने बताए ।
तत्कालीन इस्ट इन्डिया कम्पनी सरकार र नेपाल सरकारबीच सन् १८१६ मा मार्च ४ मा सुगौली सन्धि भएको थियो । जसबाट नेपालले आफ्नो एकतिहाइ भूमि गुमाएको थियो । रासस