पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्री पर्व मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
कोषले आज पत्रकार सम्मेलन गरी फागुन २४ गते पशुपतिनाथ क्षेत्रमा हुने शिवरात्री मेलाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको हो ।
यसपटकको शिवरात्रीमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न झन्डै ११ लाख मानिस आउने अनुमान गरिएको छ । पुशपतिको दर्शनका लागि बत्तीसपुतली, गौशाला पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर पञ्चदेवलबाट दक्षिण ढोका प्रवेश गर्ने व्यवस्था गरिएको कोषले जनाएको छ ।
यसैगरी मित्रपार्क, गौरीघाट उमाकुण्ड हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्थासमेत गरिएको छ । पशुपति क्षेत्रलाई गाँजा भाङ मुक्त क्षेत्र बनाउन गाँजा भाङ बिक्री वितरण र सेवन नगर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।
विनासकारी भूकम्पका कारण यस वर्ष विगतको तुलनामा पशुपतिनाथको दर्शन गर्न कम मात्रै साधु सन्यासी आउने कोषको भनाइ छ । शिवरात्रीमा सहभागी हुन आउन साधुसन्तको बिदाइका लागि कोषले सात लाख रुपैयाँ छुट्याएको छ । इमेजखबरमा समाचार छ ।