नेपालको संविधानलाई उत्कृष्ट दस्ताबेज: भारतका प्रधानन्यायाधीश टीएस ठाकुर

भारतका प्रधानन्यायाधीश टीएस ठाकुरले संविधानसभाबाट ५ महिनाअघि जारी नेपालको संविधानलाई उत्कृष्ट दस्ताबेज भएको बताएका छन् ।
सार्क लको १३औं सम्मेलन र सार्क राष्ट्रका प्रधानन्यायाधीशहरूको १०औं सम्मेलनको समापन कार्यक्रममा आइतबार उनले शान्ति, स्वतन्त्रता, सामाजिक न्याय, स्वतन्त्र न्यायपालिकालगायत नेपाली जनताका भावना र चाहना समेटिएको नेपालको संविधान ज्यादै प्रेरणाप्रद रहेको बताए ।
उनले लोकतन्त्र, धर्मनिरपेक्षता, समानता, न्यायपालिकाको स्वतन्त्रताजस्ता विषय छाडेर अन्य मुद्दामा संविधान संशोधन गर्न सकिने भारतको अनुभव रहेको उल्लेख गर्दै नेपालीको इच्छानुसारको संविधान जारी हुनु ठूलो उपलब्धि भएको बताए ।
उनले संविधान अपरिवर्तनीय दस्ताबेज नभएको उल्लेख गर्दै भने, ‘भारतमा संविधान जारी भएको ६६ वर्ष भइसक्यो र त्यसमा सयपटक संशोधन भइसकेको छ ।’ बंगलादेशका प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हाले समेत नेपालको संविधानलाई उत्कृष्ट रहेको उल्लेख गर्दै स्वागत गरे । कान्तिपुरमा समाचार छ ।