प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाका जनताको प्रगति, समृद्धि र कल्याणका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का आदर्श, सिद्धान्त र उद्देश्यप्रति नेपालको पूर्णप्रतिबद्धता रहेको दोहोर्याएका छन् ।
सार्क मन्त्रिपरिषद्को ३७औं बैठकको विहीबार पोखरामा उद्घाटन गर्दै उनले दक्षिण एसियाली पहिचान र यस क्षेत्रका जनताको उन्नयनलाई केन्द्रमा राखेर सार्कको जीवन्त भावनालाई अक्षुण्ण राख्न सबै सदस्य मुलुकलाई आग्रह गरे ।
प्रधानमन्त्रीले दक्षिण एसियाको सफलता, यसको समुज्वल भविष्यका निम्ति बिलम्ब गर्ने बेला छैन भन्दै अब आर्थिक विकासका सम्भावनालाई अघि बढाउन सामूहिकरुपमा काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने-विश्व मामिलामा अग्रपंक्तिमा रहेर दक्षिण एसियाले नेतृत्व गर्नुपर्छ ।
विश्वले दक्षिण एसियाको सामथ्र्य र सम्भावना, हाम्रा प्रयास र आकांक्षालाई उत्सुकताकासाथ निरन्तर नियालिरहेको चर्चा गर्दै प्रधानमन्त्रीले यस भेगको गरिमाका निम्ति दृढताकासाथ काम गर्नुपर्ने बताए ।
उनले भने-स्रोत र साधनले भरिपूर्ण भएर पनि चौतर्फी विकासमा दक्षिण एसिया पछि परेको छ । यस क्षेत्रको विकास प्रगति उत्साहजनक छैन । दिगो विकासको प्रचुर सम्भावना रहेको यस भेगलाई आधुनिक प्रविधिको उपयोग गर्दै विश्वको आर्थिक केन्द्र बनाउन सकिन्छ ।