नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका बेलायती राजकुमार ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । राष्ट्रपति भण्डारीसँग राजकुमार ह्यारीले राष्ट्रपति कार्यालय शितल निवासमा शिष्टाचार भेट गरेका हुन् ।
राष्ट्रपतिसँगको भेटमा राजकुमार ह्यारीले भूकम्पछि पनि नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको भन्दै बेलायत फर्केपछि आफूले नेपालको पर्यटन प्रवद्र्धनका लागि सबै प्रकारका प्रयास गर्ने बताएका थिए ।
गत बैशाखमा गएको महाभूकम्प, त्यसले पुर्याएको क्षति, पुर्ननिर्माण तथा नेपालको पर्यटन क्षेत्रको पछिल्लो अवस्थाबारे आफु जानकार रहेको भन्दै राजकुमार ह्यारीले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन आफूले पदयात्रा, घरबासलगायतका कार्यक्रम गर्न लागेको बताएका थिए ।
त्यसक्रममा राष्ट्रपति भण्डारीले नेपाल र बेलायतबीचको सम्बन्ध राजकुमार ह्यारीको नेपाल भ्रमणपछि अझै बलियो हुने र थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेको राष्ट्रपतिका संचार विज्ञ माधव शर्माले जानकारी दिए ।
आजै राजकुमार ह्यारीले भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार स्क्वायरका मन्दिर र भवनहरुको पुनर्निर्माणबारे पनि जानकारी लिएका छन् ।
यस क्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृतपाटन दरबार क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलको अवलोकन गरी भूकम्पबाट भएको क्षतिबारे जानकारी लिएका हुन् ।
राजकुमार ह्यारीले आजै साँझ ५ बजे भक्तपुर दरवार स्क्वायरमा पुगेर त्यस क्षेत्रको अवलोकन र भूकम्प पीडितसँग भेट गर्ने कार्यक्रम छ ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसर पारेर बेलायती महारानी एलिजावेथ द्वितीयको प्रतिनिधिका रुपमा पहिलो पटक नेपाल आएका राजकुमार ह्यारीले हिजो प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका थिए । इमेजखबरमा समाचार छ ।