स्वास्थ्यमन्त्री रामजनम चौधरीको पुल्चोकस्थित क्वाटर अगाडि ड्रोन क्यामेरा खसेको छ । मंगलबार साँझ करिव ६ बजेतिर मन्त्री क्वाटर अगाडि ड्रोन क्यामेरा खसेको हो । उड्दै आएको ड्रोन क्यामेरा रुखमा ठोक्किएर खसेको थियो ।
सो खसेको ड्रोन क्यामेरालाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अनुसन्धान सुरु गरेको छ । मन्त्री क्वाटरको तस्वीर र भिडियो खिच्न ड्रोन क्यामेरा उडाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । तर खास विवरण आएको छैन ।
घटनाबारे थाहा पाएपछि गृहमन्त्री शक्ति बस्नेत आफैं स्वास्थ्यमन्त्री चौधरीको क्वाटरमा पुगेका थिए ।
अनुमति विना ड्रोन क्यामेरा उडाउन मनाही छ । यसअघि नेपाली सेनाको मुख्यालयमा ड्रोन क्यामेरा उडाएको आरोपमा दुई चिनियाँ पत्रकार पक्राउ परेका थिए ।