वैशाख १२ गतेको भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणका लागि साढे २० लाख रुपैयाँ जम्मा

वैशाख १२ गतेको भूकम्पले भत्किएको धरहरा पुनर्निर्माणका लागि साढे २० लाख रुपैयाँ जम्मा भएको छ। 
 
मेरो धरहरा म बनाउँछु भन्ने अभियान अन्तर्गत धरहरा पुनर्निर्माण कोषमा  सोमबार १८ लाख ४० हजार ९ सय ४० रुपैयाँ जम्मा भएको हो। मन्त्रिपरिषद्मा रहेका मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीको एक महिनामा प्राप्त हुने पारिश्रमिक बराबरको रकम कोषमा जम्मा भएको हो । 
 
धरहरा पुनर्निर्माण कोषमा अहिलेसम्म २० लाख ६६ हजार ४ सय ९५  रुपैयाँ जम्मा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतले यस अघि नै कोषमा रकम जम्मा गरेका थिए। 
 
पुरातत्व विभागलाई अब बनाइने नयाँ धरहराको ड्रइङ, डिजाइन र लागत अनुमानको विस्तृत विवरण तयार गर्ने जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री कार्यालयको निर्देशन र प्राधिकरणको समन्वयमा उक्त विभागले धरहरा निर्माण सम्बन्धी आवश्यक प्रकृया अघि बढाइरहेको  प्राधिकरणले जनाएको छ। सेतोपाटीमा समाचार छ ।