भूकम्पबाट क्षति पुगेको संरचनाहरुको पुनर्निर्माणका बारे व्यवस्थापिका संसदको नुगमन समितिमा प्रगति विवरण पेश

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म भूकम्पबाट क्षति पुगेको भौतिक संरचनाहरुको पुनर्निर्माणका बारे व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिमा आफ्नो प्रगति विवरण पेश गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा प्राधिकरणले २०७२ साल फागुन ३० गतेदेखि भूकम्पबाट क्षति पुगेका निजी आवास पुनर्निर्माणका लागि कार्य सुरु भइसकेको जानकारी गराउदै सरकारले उपलब्ध गराएको सहयोग रकम जनतालाई उपलब्ध गराउन थालिएको जनाएको छ ।
महाभूकम्प र त्यसपछि आएको पराकम्पनका कारण ४ लाख ९८ हजार ६ सय ९७ निजी घर पूर्ण रुपले क्षति भएको र २ लाख ५६ हजार ६ सय ९७ घर आंशिक रुपमा क्षति भएको प्राधिकरणले जनाएको छ ।
यस्तै १६ सय इन्जिनियर भूकम्प प्रभावित क्षेत्रमा खटिएको विवरण प्राधिकरणले पेश गरेको छ ।
समितिमा आमन्त्रित विभिन्न जिल्लाका सभासदहरुले अनुगमन प्रभावकारी नभएको गुनासो गरेका थिए । धादिङ जिल्लाका सभासद राजेन्द्र पाण्डेले प्रभावित क्षेत्रको तथ्याङ्क संकलन गर्ने समूह नै अन्यौलमा रहेको बताए ।
उनले सम्बन्धित पक्षसम्म सहयोग रकम नपुगेको गुनासो गर्दै सहयोग रकमको व्यापक दुरुपयोग भएको आरोप लगाए । – इमेजखबरमा समाचार छ ।