पूर्व प्रधानसेनापति गडुल शम्शेर राणाको ८० वर्षको उमेरमा निधन

पूर्व प्रधानसेनापति गडुल शम्शेर राणाको ८० वर्षको उमेरमा बुधबार निधन भएको छ । १९९२ साल चैत ८ मा ललितपुरमा जन्मिएका राणा २०११ साउन ४ मा नेपाली सेनामा प्रवेश गरेका थिए । उनी २०४८ साल जेठ १ मा प्रधान सेनापति पदमा नियुक्त भए । उनी २०५२ साल वैशाख २१ मा सेवानिबृत्त भएका थिए ।
राणाको अन्तिम बिदाईमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले पार्थिव शरिरमा माल्यार्पण गरेका थिए । उनले नेपाली सेनाको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गरेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उक्त अवसरमा नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द तथा अधिकृतहरु, नेपाली सेनाका सकलदर्जा एवं अन्य विभिन्न महानुभावहरूका साथै नातेदार तथा परिवारजनहरुको उपस्थित रहेको थियो । राणाको अन्त्येष्टिको दौरान पशुपति आर्यघाटमा सेनाको एक टुकडीले अन्तिम सम्मान प्रदान गरेको थियो ।
नेपाली सेनामा लामो समय सम्म सेवामा रही नेपाली सेनाको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उजागर गर्ने एक पूर्व प्रधान सेनापतिको आत्माको चीर शान्ति एवं शोक सन्तप्त परिवारप्रति समग्र नेपाली सेना हार्दिक श्रद्धान्जली अर्पण गरेको विज्ञप्ती मार्फत जनाएको छ ।
राणा २०१३ साल जेठ २० मा देवीदत्त गणको सहायक सेनानी दर्जामा नियुक्त भएका थिए । उनले सैनिक जीवनमा सेनाका प्राय: सबैजसो प्रमुख युनिट र विभागहरुको नेतृत्व गरे । लामो सैनिक जीवन व्यतित गरेका राणाको कार्यकालमा सेनाको विकास र आधुनिकीकरणका अनेक महत्वपूर्ण कार्यहरु भएको सेनाले जनाएको छ । कान्तिपुरमा समाचार छ ।