भूकम्पमा सिन्धुपाल्चोकबाट भागेका २१६ कैदीमध्ये हालसम्म ९८ जनामात्र प्रहरीले पक्राउ

गत वैशाख १२ गतेको भूकम्पमा सिन्धुपाल्चोक जिल्लाबाट भागेका २१६ कैदीमध्ये हालसम्म ९८ जनामात्र प्रहरीले पक्राउ गरी जिल्ला कारागार सिन्धुपाल्चोकमा बुझाएको जिल्ला कारागार सिन्धुपाल्चोकका निमित्त कारागार प्रमुख आकाश अधिकारीले जानकारी दिएका छन् ।
पछिल्लो समय पक्राउ पर्नेमा जबर्जस्ती करणी गरेको आरोपमा भूकम्पपश्चात् कारगारबाट फरार भएका सिन्धुपाल्चोक जिल्ला धुस्कुन-१ का ३९ वर्षीय नकुल भन्ने गिरीबहादुर खत्री रहेको र उनी समेत अहिलेसम्म ९८ जनालाई प्रहरीले पक्राउ गरिसकेको अधिकारीले जानकारी दिए ।
कारागारमा २१६ कैदीबन्दी रहेको, जसमा १९६ पुरुष र २० महिला रहेको कारागारले जनाएको छ । भूकम्पपश्चात् फरार भएका कतिपय कैदी आफैँ सम्पर्कमा आएका थिए भने कतिपयलाई प्रहरीले पक्राउ गरेको थियो ।
भूकम्पपश्चात् कारागारसमेत भत्किएकाले कैदी राख्ने ठाउँसम्म नहुँदा धेरै समस्या भएको र समातिएका कैदीलाई विभागले तोके अनुुसारको ठाउँमा पठाउने गरेको निमित्त प्रमुख अधिकारीले जानकारी दिए । भूकम्पले भत्किएको कारागार एक वर्ष हुनलाग्दा समेत निर्माण गर्ने तत्परता देखिएको छैन ।
अधिकारीका अनुसार भूकम्पपश्चात् दुई कारागार प्रमुखको सरुवा भइसकेको र अहिले जिल्ला कारागार प्रमुखविहीन भएको छ । भत्किएको कारागारको पुनःनिर्माणका लागि उचित स्थानको अभाव र सार्वजनिक जग्गाको अभावको कारणसमेत कारागार निर्माणमा समस्या भएको हो । भूकम्प गएको एक वर्ष पुग्नैलाग्दासमेत ११८ जना कैदीबन्दी अझै फरार छन् । (रासस)