प्रधानमन्त्री केपी ओलीद्वारा तीन वर्षभित्र नेपालले विद्युत निर्यात गर्ने दाबी

प्रधानमन्त्री केपी ओलीले तीन वर्षभित्र नेपालले विद्युत निर्यात गर्ने दाबी गरेका छन्। अखिल नेपाल किसान महासंघको महासम्मेलनमा बोल्दै शुक्रबार प्रधानमन्त्री ओलीले एक बर्षभित्र लोडसेडिङको प्रारम्भिक अन्त्य गर्ने, २ बर्षभित्र चाहिए जति आपूर्ति गर्ने र तीन वर्षमा निर्यात गर्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले आफूले अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पारेको भन्दै विश्व माझ स्वतन्त्र र सार्बभौम मुलुक भनेर चिनाउन सफल भएको दाबी गरे। चीनसँग बोल्दा लुकेर बोल्नुपर्ने अबस्थाको अन्त्य गरेको र भारतसँगको सम्बन्धलाई पनि सुधारेको ओलीको जिकिर छ।
घोसेमुण्टो लगाउनुपर्ने गरी आफूले काम नगरेको ओलीको तर्क छ।
इन्धन आपूर्ति सहज रूपमा भए पनि आन्तरिक समस्या उत्पन्न भइरहेको र यसको छिट्टै अन्त्य गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता जनाए।
एकातिर सरकार ढल्छ भनेर हल्ला चलाउने अनि त्यही मौकामा इन्धनको अभाब देखाउने खालको खेल भइरहेको समेत प्रधानमन्त्री ओलीको आरोप छ। आफूलाई सरकार कहिले ढल्छ भन्ने कुनै चिन्ता नरहेको भन्दै उनले सरकारमा बसुन्जेल नराम्रो काम नगर्ने बताए। सेतोपाटीमा समाचार छ ।