उपप्रधान एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले बैशाखदेखि लोडसेडिङ् आधारभूत रुपमा अन्त्य हुने र ०७४ सालमा पूर्णरुपमा अन्त्य हुने घोषणा गरेका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री रायमाझीले लोडसेडिङ् अन्त्य गर्ने सवै पूर्वाधार पूरा भइसकेकाले आगामी नयाँ वर्षवाट यसको प्रभाव देखिने उद्घोष गरेका हुन्।
उनले भने, उर्जा संकट निवारण गुरुयोजनाअनुसार द्रुत गतिमा काम भैरहेकाले नयाँ वर्षदेखि दैनिक ४ देखि ५ घण्टासम्ममात्रै लोडसेडिङ हुने ठोकुवा गर्दछु, मैले बलियो जग हालिसकेको छु, सरकार परिवर्तन भएपनि केही असर पर्दैन, काम अघि बढ्छ।
रायमाझीले विभिन्न अपठ्यारो परिस्थितिको बावजुद पनि आफूले उर्जा क्षेत्रमा आमूल परिवर्तन ल्याएको दाबी गर्दै अब मुलुकले आगामी दिनमा उर्जाको समस्या भोग्नु नपर्ने बताए। उनले भने, हामी केही वर्षमै विद्युत उत्पादन गरेर निर्यात गर्ने सामाथ्र्य राख्नेछौं ।
उनले उर्जा क्षेत्रको विगत १ सय ५ वर्षे लामो ईतिहास अत्यन्तै कमजोर रहेको उल्लेख गर्दै पूरानोलाई क्रमभंग गरेर नयाँ गुरुयोजनाहरु सूचारु गर्न आफूले उल्लेखनीय काम गरेको दाबी गरे ।
ठूला आयोजना अन्र्तगतका बुढीगण्डकी, नौमुरे, नलसिंहगाढ, अपर अरुण, सुनकोशी लगायतका हाइड्रोप्रोजेक्ट समेत चाँडै निर्माण कार्य अगाडि बढ्ने मन्त्री रायमाझीले जानकारी दिए ।
भारतबाट आउने भनिएको ६ सय मेगावाट विद्युत्त ढल्केवर र अन्य ठाउँमा सव-स्टेशनको अभावका कारण आउन नसकेको बताउँदै त्यो पनि चाँडै आउने उनको दाबी छ।
ट्रान्समिसन लाइनको समस्याका कारण पूर्वी तराई र काठमाडौं उपत्यकावीच सन्तुलन कायम गर्न असहज भएको कारण उपत्यकामा दैनिक ११ घण्टा लोडसेडिङ् हुने गरेको मन्त्री रायमाझीले स्पष्ट पारे।
फरक प्रसंगमा मन्त्री रायमाझीले ओली नेतृत्वको सरकारले स्थानीय निर्वाचन र संसदीय निर्वाचन गराएरमात्रै सत्ता हस्तान्तरण गर्ने दाबी गरे। उनले भने, यो सरकार ढल्ने सम्भावना नै छैन, यसले आफ्नो कार्यकाल पूरा गरेरै छाड्छ । सेतोपाटीमा समाचार छ ।