छिटोभन्दा छिटो राजतन्त्र पुर्नवहालीको माग, गणतन्त्रको सशक्त विरोध गर्न सभा आयोजना

शाही युवा शक्ति नेपालले छिटोभन्दा छिटो राजतन्त्र पुर्नवहालीको माग गरेको छ। शाही युवा शक्ति नेपालले वैशाख ३ गते मोटरसाइकल र्याली, काठमाडौं, ललितपुर र भक्तपुरमा गणतन्त्रको सशक्त विरोध गर्न सभा आयोजना गर्ने, जेठ १५ गते गणन्त दिवसको अवसर पारेर खुल्लामञ्चमा बृहत्तसभा गर्नेलगायतका आन्दोलनका कार्यक्रमहरु अघि सारेको छ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति (आरवाइपी) ले राजा ज्ञानेन्द्रसँग प्रमुख राजनीतिक दलले तत्कालीन अवस्थामा गरेको सम्झौता कार्यान्वयन नगरेको बरु विदेशी डलरमा राष्ट्रियता बेचेको भन्दै शीर्ष नेतालाई खबरदारी गर्न नेपाल बन्द लगायतका बृहत्त विरोधका कार्यक्रमहरु अघि सारेको बताएको हो।
शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले भने, राजतन्त्र पुर्नवहालीको लागि हामी सडक संघर्षमा होमिसकेका छौं, युवाहरुको तातो जोशले राजतन्त्र पुर्नवहाली भएरै छाड्छ, हामी मिशनमा छौं, यो मिशन पूरा गरेरै छाड्छौं।’
अध्यक्ष खड्काले राजाका नजिकका आसेपासे अवसरवादी भएको कारण मुलुकमा राजतन्त्र पुर्नवहाली हुन ढिला भएपनि आँफूहरु जागिसकेकोले अब छिट्टै राजा नारायणहिटीमा आउने दाबी गरे। उनले भने, यो देशमा राजा नआएसम्म मुलुक र जनताले चैनको सास फेर्न सक्दैनन्, त्यसैले राजा ज्ञानेन्द्रले मात्रै मुुलुक र जनताको भलाइ गर्नसक्नुहुन्छ, नेताको काम छैन।
कार्यक्रममा संगठनका उपाध्यक्ष सुरेश तामाङले राजतन्त्र पुर्नवहालीको लागि राजावादीले खुलेर सहयोग नगरे भन्दै त्यस्तालाई भौतिक कारवाही गर्ने चेतावनी दिए। उनले भने, ‘राजावादी एकजुट भए राजालाई नारायणहिटीमा पुर्नवहाली गराउन धेरै समय कुर्नुपर्दैन, त्यसैले हामी एक हुनुपर्छ।’
महासचिव कृष्णराज थापाले गणतन्त्रवादीले मुलुकमा कायापलट हुने भनेर जनतालाई आँखामा छारो हाल्ने काम गरेकोले मुलुकमा समस्या उत्पन्न भएको उल्लेख गर्दै तत्काल राजतन्त्र पूर्नस्थापना गर्नुपर्ने माग गरे। उनले भने, राजतन्त्र भएको देशमा शान्ति, समृद्धि र विकास भएको छ, हाम्रो देशमा पनि राजाले मात्रै देश र जनताको हितमा काम गर्नसक्नुहुन्छ । नागरिकन्युजमा समाचार छ ।