काठमाडौंको उत्तरपूर्वी शंकरापुर हरसिंहपौवामा भीषण आगलागी, बस्ती खाली

काठमाडौंको उत्तरपूर्वी शंकरापुर नगरपालिका-५ स्थित जहरसिंहपौवा सामुदायिक वनमा बुधबार अपराह्न भीषण आगलागी भएको छ ।
आगलागीका कारण सिन्धुपाल्चोकबाट काठमाडौं आउने सवारी-साधन जहरसिंहपौवा र काठमाडौंबाट सिन्धुपाल्चोक हिँडेका सवारी-साधन शंकरापुर नगरपालिका-४ मा करिब चार घन्टा रोकिएका थिए ।
काठमाडौंबाट गएको वारुणयन्त्र, इलाका प्रहरी कार्यालय साँखुबाट गएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
सामुदायिक वनमा आगलागी भएपछि जंगलमाथि रहेको बस्ती खाली गराइएको थियो ।
आगलागी नियन्त्रणपछि सो सडक भएर चल्ने सवारी-साधन निर्वाधरुपमा चल्न थालेको इप्रका साँखुले जनाएको छ । रासस