नयाँ संविधान घोषणासँगै आफूहरुको वर्ग सङ्घर्षको मुद्दा समाप्त: एमाले

नेकपा (एमाले)ले नयाँ संविधान घोषणासँगै आफूहरुले उठाउँदै आएको वर्ग सङ्घर्षको मुद्दा समाप्त भएको जनाएको छ । 
मई दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घले आइतबार भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा एमालेका नेताहरुले लामो समयदेखि वर्ग शत्रुको विषयमा पार्टीले कुरा उठाएको र अब वर्ग समन्वय अथवा सहअस्तित्व मार्फत देशमा आर्थिक तथा भौतिक उत्पादन वृद्धिका लागि सङ्घर्ष गर्ने बताए।
कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेलले राजनीतिक अधिकार प्राप्तिसँगै मुलुक नयाँ चरणमा प्रवेश गरेको र अब गरिबी निवारण तथा बिदेसिन बाध्य ४० लाख नेपालीलाई रोजगारी उपलब्ध गराउने चुनौती रहेको बताए।
पोखरेलले नेपालमा सरकारले अझै वस्तु र सेवालाई न्यायोचित र सन्तुलित ढङ्गले वितरण गर्न नसकिरहेका कारण गरिब झन् गरिब तथा धनी अझ धनी हुने अवस्था सिर्जना भइरहेकाले यसलाई परिवर्तित परिस्थिति अनुरुप पुनःव्यवस्थित गर्नुपर्नेमा जोड दिए।
जिफन्टका अध्यक्ष तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले देशमा चलिरहेको वर्ग सङ्घर्ष सकिएको र अब सबै मजदुर मिलेर देशमा आर्थिक तथा उत्पादकीय क्षेत्रमा सङ्घर्ष गर्नुपर्ने बताए।
जिफन्टका पूर्वमहासचिव उमेश उपाध्यायले देशमा आर्थिक उत्पादन वृद्धितर्फ राजनीतिक दलका नेताहरुको ध्यान जानुपर्ने बताए।  यस अघि सो महासङ्घको आयोजनामा पदयात्रा भएको थियो । रासस