नेपालमा प्रि’मनसुन सुरु भएको छ । भारतको उत्तर प्रदेशमा विकसित न्यूनचापीय प्रणालीका कारण धेरै भागमा वर्षा भएको छ ।
बिहान पूर्वी भागका विभिन्न स्थान र दिउँसो काठमाडौंसहित पश्चिम, मध्यपश्चिम र सुदूरपश्चिमका विभिन्न भागमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार मुलुकका धेरै भागमा वर्षा भयो, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् उपसचिव राजु प्रधानांगले कान्तिपुरलाई भने, बल्ल प्रि-मनसुन सक्रिय भयो । चैत र वैशाख प्रि-मनसुनको समय भए पनि लामो समयदेखि वर्षा भएको थिएन । लामो खडेरीका कारण परम्परागतधारा र कुवा पनि सुकेका छन् । सबैतिर पिउने पानीको हाहाकार भएको छ ।
मौसमविद् प्रधानांगका अनुसार शनिबार अपराहन धनगढी, नेपालगन्ज र जुम्लामा छिटफुट, सुर्खेतमा ६.९, डडेलधुरामा ०.१, दाङमा १९, पोखरामा ४.४ र भैरहवामा ३.६ मिलिमिटर वर्षा भएको छ ।
यस्तै, काठमाडौंमा १.२, ताप्लेजुङमा ०.५, धनकुटामा २५.३, धरानमा १५.३, लुम्लेमा ८.४, जोमसोममा २.५, जनकपुरमा १.२ र जिरीमा ४.५ मिलिमिटर वर्षा भएको छ । महाशाखाले शनिबार राति पनि धेरै भागमा वर्षा हुने अनुमान गरेको थियो । कान्तिपुरमा समाचार छ ।