लामो खडेरीले जिल्लाको खाद्य उत्पादनमा ह्रास आउँदा जाजरकोटमा खाद्य संकट चर्किएको छ।
बर्षेनी खाद्य अभावको मारमा पर्ने पजारु, दशेरा, सीमा, जुँगाथापाचौर, अर्छानी, टालेगाउँ, साल्मा थालारैकर, मजकोट, दह, कोताङ्घ, गर्खाकोट, सुवानाउली, रग्दा, भगवती, पैंक लगायत गाविसमा यतिबेला बढी खाद्य संकट देखिएको छ ।
जिल्लाको भेरीमालिका नगरपालिका र २६ गाउँ विकास समितिमा खाद्य संकट देखिएको हो । चरम खाद्य संकट देखिएपछि जाजरकोटलाई खाद्य संकटग्रस्त जिल्ला घोषणा गर्न माग गरिएको छ । जिल्ला दैवि प्रकोप उद्धार समितिको बुधबार बसेको बैठकले खाद्य संकटग्रस्त जिल्ला घोषणाका लागि माग गरेको हो । समितिले जिल्ला कृषि विकास कार्यालयको प्रतिवेदनका आधारमा खाद्य संकटग्रस्त जिल्ला घोषणाको लागि सरकारलाई अनुरोध गरेको छ । समितिले खाद्यान्न आपुर्तिका लागि दातासमेत गुहारेको छ ।
जिल्लामा खाद्यान्नको संकट देखिएपछि खाद्यान्न संकटग्रस्त जिल्ला घोषणा र खाद्यान्न आपुर्तीका लागि दाता गुहारेको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । लामो खडेरी, असिना, हावाहुरीका कारण गहुँ, जौं, मसुरो, चनाजस्ता हिउँदे बाली उत्पादनमा ह्रास भएको प्रजिअ गौतमले बताए ।
खाद्य संकट टार्न विश्व खाद्यलगायत दातालाई राहत प्रदान गर्न तथा कामको लागि खाद्यान्न कार्यक्रम संचालन गरिदिन आग्रह गरेको गौतमले बताए । कतिपय गाउँका बासिन्दासँग खाद्यान्न किन्ने रकम नहुने हुँदा कामका लागि खाद्यान्न कार्याक्रमको माग गरेको उनले बताए । त्यस्तै खाद्यान्न, बिउबिजन औजारको मूल्यमा छुट तथा अनुदानको समेत व्यवस्थाका लागि उपल्लो निकायमा अनुरोध गरेको उनले बताए ।
जाजरकोटको १७ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये १३ हजार हेक्टरमा उत्पादन शून्यजस्तै भएको छ । खडेरीले कुदु, भुरचौर, मनघाट, मनमई, रावतगाउँ, कालेगाउँ, रग्दा रोली जिउला लगायत फाँटमा लगाएको हिउँदे बालीबाट राम्रो उत्पादन भएको छैन ।
हिउँदे सिजनमा २२ हजार मेट्रिक टन (करिब ९० प्रतिशत) अन्न उत्पादन घटेको बरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले बताए । उनले करिब ४४ करोडको अन्न उत्पादन घटेको बताए । खाद्य संकटबाट जिल्लाका २७ हजार घर परिवारमध्ये १८ हजार प्रभावित भएको उनले बताए ।
खाद्यान्न संकट हुँदासमेत ढुवानी व्यवसायीको लापरबाहीका कारण पश्चिम क्षेत्रमा स्थापित २ डिपोमा खाद्य संस्थानको चामल पुग्न नसकेको स्थानीयले बताएका छन् । दशेरा र घोगी डिपोमा चामल नपुग्दा थप खाद्य संकट चर्किएको उनीहरुले बताए । कान्तिपुरमा समाचार छ ।