आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय राजनीतिक: निवर्तमान राजदूत उपाध्याय

भारतका लागि नेपालका निवर्तमान राजदूत दीपकुमार उपाध्यायले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय राजनीतिक भएकाले त्यसमा आफ्नो भन्नु केही नरहेको प्रतिक्रिया दिएका छन् ।
सरकारको निर्णयअनुसार आज स्वदेश फर्किएका राजदूत उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको निर्णयलाई आफूले सहज रुपमा लिएको बताए ।
राजदूत पदमा १३ महिना पाँच दिन बिताएका उपाध्यायले पदमा रहँदा भारतीय सिमानामा उत्पन्न आपूर्तिको असहज अवस्थालाई सामान्य बनाउन सक्दो प्रयास गरेको बताए ।
फिर्ता बोलाएको कारणबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले भने, मलाई फिर्ता बोलाउने सम्बन्धमा परराष्ट्र मन्त्रालयले कुनै कारण खुलाएको छैन ।
पदमा रहँदा आफूबाट कुनै गल्ती नभएको स्पष्ट पार्दै उनले त्यस सम्बन्धमा सार्वजनिक भएका हल्ला भ्रम मात्र रहेको बताए । उनले सरकारप्रति आफ्नो पूर्ण सम्मान रहेको र कुनै मर्यादा उल्लङ्घन नगरेको बताए ।
अबको जीवन कसरी अघि बढ्छ भन्ने एक जिज्ञासामा उनले भने, साथीभाइसँग सल्लाह गरेर अघि बढ्छु ।
राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी पूरा भएको र अन्तिम समयमा आएर स्थगन हुनु दुःखद भएको बताउँदै उनले एक-दुई घटनाले नेपाल-भारतबीचको सम्बन्धमा कुनै असर नपर्ने जिकिर गरे । (रासस)