बढ्दो आधुनिकीकरणसँगै नेपालमा रक्तचापका बिरामी पनि बढ्न थालेका छन् ।
चिकित्सकले स्वस्थकर खानापान, शारीरिक व्यायाम र मानसिक तनाब नियन्त्रण गरी रक्तचाप नियन्त्रण गर्न सुझाव दिएका छन् । कुनै समयमा न्यून मात्रा देखिने ब्लडप्रेसरको समस्या आजभोलि धेरैको समस्या बन्ने गरेको छ ।
धेरैले रक्तचाप घटबढ हुँदा सामान्य रुपमा लिई चिकित्सककहाँ जान आवश्यक ठान्दैनन् तर समस्या बढ्दै जाँदा कहिले ठूलो समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । तेत्तीस वर्षीय हरिभक्त शर्माले उच्च रक्तचापको समस्या भएर औषधि खान थालेको तीन वर्ष भयो । उनले चिकित्सकको सल्लाह अनुसार नियमित रुपमा औषधि सेवन गर्दै आएका छन् । उनलाई टाउको अचानक दुख्ने र चक्कर लाग्ने समस्या भएपछि चिकित्सकहाँ जाँदा रक्तचाप भएको थाहा भएको थियो ।
चालिस वर्षीय कपिल थापाले भने रक्तचाप उच्च देखिएको लामो समयसम्म आफैं निको होला भन्ने सोचेर औषधि खाएनन् । उनले भने, लामो समय औषधि सेवन गरिनँ, आफैँ निको होला भन्ने लाग्यो तर पछि झन् बढ्दै गएपछि चिकित्सकको सल्लाहमा नियमित औषधि सेवन गर्दै आएको छु ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा मिलनप्रकाश श्रेष्ठ अहिले २० देखि ३० वर्षका युवामा रक्तचापको समस्या देखिन थालेको बताउँछन् । धेरैलाई नियमित औषधि खानुपर्ने अवस्था देखिएको उनको भनाइ छ ।
उच्च रक्तचापको कारणमध्ये करिब दुईदेखि तीन प्रतिशतको मात्रै कारण प्रस्ट देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण अझै पत्ता लागेको छैन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१३ मा गरेको नसर्ने रोगको जोखिम पक्षसम्बन्धी सर्भेक्षणले २५ प्रतिशत नेपालीमा उच्च रक्तचाप भएको देखाएको थियो । परिषद्ले सन् २०१२ को जुलाईदेखि २०१३ जुनसम्म ५० जिल्लाका २१० वडाका १५ देखि ६९ वर्षसम्मका चार हजार १४३ जनामा त्यस्तो सर्भेक्षण गरेको थियो ।
हरेक पाँच वर्षमा गरिने सर्भेक्षणमा उच्च रक्तचापको समस्या देखिएका कुल २५ प्रतिशतमा ३१ प्रतिशत पुरुष र २०.६ प्रतिशत महिला छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा कृष्ण अर्याल बदलिँदो जीवनशैली, अव्यवस्थित खानपान र रहनसहनका कारण अहिलेका युवा पुस्तामा उच्च रक्तचाप र यसका कारण हुने हृदयाघात, मतिष्काघात र मिर्गौला खराबीका समस्या दिन प्रतिदिन बढ्दै गएको बताउँछन् ।
मानिसहरु अरु समस्याका लागि औषधि खान डराउँदैनन् तर रक्तचापको औषधि भनेपछि हच्किने गरेको डा श्रेष्ठको अनुभव छ । उनले भने, रक्तचापको खतराबारे आवश्यक ज्ञान नभएकाले नै मानिस यति साह्रो हच्केको हुन सक्छ, रक्तचाप त्यति धेरै उच्च नभएको तथा पहिलो पल्ट देखिएको रक्तचाप तथा शरीरका अङ्गमा क्षति नपुगिसकेको अवस्थामा केही महिना औषधि नखाई अन्य उपाय अवलम्बन गरेर रक्तचाप घटाउन कोसिस गर्न सकिन्छ तर यी उपाय अपनाउँदा पनि रक्तचाप उच्च नै रहिरहेमा औषधि सुरु गर्न धेरै ढिला गर्नु हुँदैन ।
विश्व स्वास्थ्य सङ्गठनले उच्च रक्तचापलाई सुषुप्त हत्याराको संज्ञा दिएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल भन्छन्, पछिल्ला दिनमा मानिसको खानेबानीमा आएको परिवर्तन, शारीरिक निष्क्रियता, नुनको अत्यधिक प्रयोग, जङ्कफुड र फास्टफुड खाने बानी, मानसिक तनाब, धूमपान र रक्सी सेवनजस्ता कारणले उच्च रक्तचापको समस्या बढ्दै गएको हो ।