स्वदेशी तथा विदेशी पाहुनाको आगमनसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा पाहुनाको ओइरो

 स्वदेशी तथा विदेशी पाहुनाको आगमनसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा पाहुनाको ओइरो लागेको छ । शनिबार मनाइने बुद्ध जयन्ती समारोहका लागि शुक्रबार साँझसम्मै मुलुकभित्र र बाहिरबाट विशिष्ट पाहुनाहरू आउनेक्रम जारी थियाे ।
समारोह उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पनि शुक्रबार नै पुगेकी थिइन् भने अन्य स्वदेशी/विदेशी पाहुनाले लुम्बिनी र भैरहवाका स्तरीय होटलहरू खचाखच छन् । सडकमा सुरक्षाकर्मीको एस्कर्टिङसहित विशिष्ट पाहुना बोकेका गाडी हुइँकिरहेका छन् । सुरक्षा अधिकारीलाई अतिथिको सुरक्षा प्रबन्ध मिलाउन भ्याइनभ्याई छ । बुद्ध जयन्तीका लागि लुम्बिनी आएका विदेशी र स्वदेशी पाहुना, स्वागत तथा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी र अन्य यात्रुको चापले विमानस्थलमा भीडभाड र चहलपहल बढेको छ, गौतम बुद्ध विमानस्थल प्रबन्धक शिशिर चित्रकारले भने, चार्टर गरिएका विमान पनि आएको आयै छन् ।
चीन, भारत, श्रीलंका, थाइल्यान्डका राजदूतलगायत कूटनीतिक नियोगका अधिकारी पनि हिजै भैरहवा पुगेका थिए भने थाइल्यान्डका संस्कृतिमन्त्री पनि आइपुगि सकेका छन् । विदेशी पाहुना ५ सयभन्दा धेरै पुग्ने अनुमान छ, लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले भने, स्थानीयसमेत गरेर बुद्ध जयन्ती समारोहमा सहभागीको संख्या करिब १० हजार पुग्ने अनुमान छ । बुद्ध जयन्तीका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल समेत त्यहाँ आउने निश्चित भएको उनले जनाए ।
राष्ट्रपतिले महत्त्वका साथ शुक्रबारै लुम्बिनी र आसपासका बौद्ध सर्किटस्थल अवलोकन गरेकी थिइन् । उनी प्राचीन कपिलवस्तुको तिलौराकोट पनि पुगिन् । तिलौराकोटको पश्चिमी द्वार र बीचमा रहेको राजप्रासादको अवलोकन गरेकी उनले पुरातत्त्व विभाग प्रमुख रामबहादुर कुँवरसँग त्यहाँको उत्खननबाट प्राप्त तथ्यबारे जानकारी लिएकी थिइन् । पिता राजा शुद्धोदनको राजप्रासाद तथा राजकुमार सिद्धार्थ (बुद्ध) ले २९ वर्षको युवा अवस्थासम्म बिताएको तिलौराकोटमा उनले एक घण्टा बिताइन् । राष्ट्रपतिले त्यसपछि नवलपरासीको रामग्राम र बुद्धको मावलीस्थल देवदहको पनि भ्रमण गरेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए ।
 
लुम्बिनीमा मायादेवी मन्दिर, अशोक स्तम्भ, बुद्ध जन्मस्थलमा राखिएको मार्कर स्टोनलगायत पुरातात्त्विक स्थल बारेमा प्रजिअ ढकाल र सन् १९७८ मा जापानका विश्वविख्यात वास्तुकलाविद् स्व. केन्जो टाँगेले तयार पारेको लुम्बिनी गुरुयोजनाका बारेमा कोषका सदस्य सचिव अजितमान तामाङले जानकारी गराएका थिए । राष्ट्रपतिले लुम्बिनी अन्तर्राष्ट्रिय स्थल भएकाले अझ राम्रो बनाउनुपर्ने सुझाव दिनुभएको छ, ढकालले भने । तामाङले राष्ट्रपतिसमक्ष अहिलेकै जनशक्तिले काम गरेमा गुरुयोजना सम्पन्न गर्न साढे ४ वर्ष र जनशक्ति थप गरेमा २ वर्षमा सकिने र ६ अर्ब रुपैयाँ लाग्ने जानकारी गराएका थिए । कान्तिपुरमा समाचार छ ।