मेलम्ची खानेपानी आयोजनाले स्थानीयसँग गरेको सम्झौता पूरा नगरेको भन्दै प्रभावितवासी आन्दोलित

मेलम्ची खानेपानी आयोजनाले स्थानीयसँग गरेको सम्झौता पूरा नगरेको भन्दै प्रभावितवासी आन्दोलित भएका छन्। सात वर्षअघि महाँकाल स्थानीयसँग गरेको सम्झौता  पूरा नगरेको भन्दै गाउँबासी आन्दोलनमा उत्रेका हुन्। 
पछिल्लो समय सुरुङ निर्माण कार्य तीव्र गतिमा भए पनि आन्दोलनले फेरि निर्माण कार्य रोकिने सम्भावना बढेको छ। आयोजनाको ग्याल्थुम सुरुङ खण्डका स्थानीय आफ्ना माग सुनुवाई गर्न आयोजनाको साइट कार्यालय मेलम्चीमा ज्ञापन पत्र पेश गरेका छन्। उनीहरुले मेलम्ची बजारमा दबाबमूलक र्याली गर्दै ज्ञापन पत्र दिएका हुन्।
 
दबाबमूलक र्यालीमा सहभागीहरुले आयोजनाले गरेको सम्झौता छट्टै पूरा गर्नुपर्नेमा जोड दिएका छन्। ज्ञापन पत्र बुझाउँदै उनीहरुले विभिन्न माग पूरा गर्न सात दिनको अल्टिमेटम दिएका छन्दैं। यो अवधिमा माग पूरा नभएमा सुरुङ निर्माण कार्यमा अवरोध गर्ने चेतावनी स्थानीयले दिएका छन्।
 
आयोजनाले सात वर्षअगाडि महाँकाल गाविसका वडा न. ४, ५, ६ र ७ का स्थानीयसँग विभिन्न सम्झौता गरेको थियो। आयोजनाले स्थानीयसँग गरेको १४ बुँदे सम्झौतामा  लामो समय बितिसक्दासमेत पूरा गर्नेतर्फ पहल नभएकाले आन्दोलित भएको ग्याल्थुम सुरुङ सरोकार तथा मुल आन्दोलन समितिले जनाएको छ। सम्झौतामा स्थानीय विकास पूर्वाधार, रोजगारी, पुर्नवास, क्षतिपूर्ति लगायतका मुद्दा छन्।
 
आयोजनाले स्थानीयलाई बेवास्ता गरेको र सम्झौताअनुरुप काम नगरेकाले आन्दोलित भएका हौं, ग्याल्थुम सुरुङ सरोकार तथा मुल आन्दोलन समितिका अध्यक्ष सञ्च लामा भन्छन्, आयोजनाको काम सुरु भएपछि गाउँमा धेरै समस्या बढेका छन्, त्यसको समाधानका लागि आयोजनाले कुनै चासो दिएको छैन। उनकाअनुसार सुरुङ निर्माण कार्य हुन थालेपछि गाउँमा थुप्रै पानीका मुहान सुकेको, बिस्फोट कार्य गर्दा घरहरु चर्केको, खेतीयोग्य जमिन नासिएको छ। 
 
अहिले सुरुङ निर्माण कार्यको ठेक्का पाएको इटालियन कम्पनी सिएमसिले ग्याल्थुम अडिटको काम थालेको केही महिना मात्र भएको छ।