प्रधानमन्त्रीद्वारा बैदेशिक लगानी सुरक्षित रहेकाले निर्धक्क लगानी गर्न बैदेशिक लगानीकर्तालाई आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले बैदेशिक लगानी सुरक्षित रहेकाले निर्धक्क लगानी गर्न बैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन्। नेपाल लगानीको लागि उपयुक्त गन्तव्य र उर्जाको धेरै संभावना बोकेको मुलुक भएकाले यस क्षेत्रको  लगानी सुरक्षित रहेको उनको भनाइ थियो।
मंगलबार राजधानीमा सुरु भएको दुई दिने उर्जा लगानी सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संविधान निर्माण पछि उर्जा क्षेत्रमा बैदेशिक लगानीको लागि उपयुक्त र अनुकुल समय भएको भन्दै लगानीको सुरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले नेपालमा उर्जा विकासको संभावना र बजार निकै ठूलो रहेको पनि उल्लेख गरे। प्रधानमन्त्री ओलीले उर्जा लगानी सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन उर्जा विकास र लगानीको क्षेत्रमा कोशेढुङा सावित हुने उल्लेख रे।
सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले नेपालको उर्जा विकासका लागि बैदेशिक लगानी संगै प्रविधि र जनशक्तिको खाँचो औल्याए। त्यसैगरी लगानी बोर्डका प्रमुख कार्यकारी राधेश पन्तले मुलुकको सम्मुन्नत विकासको लागि उर्जामा बैदेशिक लगानी आवश्यक रहेको उल्लेख गरे।
दुई दिने अन्तराष्ट्रिय सम्मेलनमा नेपाल सहित २० राष्ट्रका २ सय ५० जना उर्जा लगानी कर्ता तथा विज्ञहरुको सहभागीता छ। नेपालमा उर्जा लगानीको वातावरण, अवसर र चुनौती तथा बैदेशिक लगानीका लागि आवश्यक पुर्वाधार लगायत विषयमा सम्मेलनमा छलफल हुने बताईएको छ । सेतोपाटीमा समाचार छ ।