सुदूरपश्चिममा कालाजारको विरामीको संख्यामा बृद्धि

सुदूरपश्चिममा कालाजारको विरामीको संख्यामा बृद्धि भएको सेती अञ्चल अस्पतालले जानकारी दिएको छ। सेती अञ्चल अस्पतालमा ३ वर्षको अवधिमा ४७ जना  कालाजारका विरामीहरुले उपचार सेवा लिएको अस्पतालले जनाएको छ।
सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सूर्यबहादुर गुरूङले सुदूरपश्चिमका केहि पहाडी जिल्ला र कैलालीको पहाडी गाविसहरुमा कालाजारका विरामीहरु फेला परेको बताए।
उनले एक किसिमको भुसुनाको टोकाईबाट कालाजार रोग लाग्ने बताउँदै यो रोग लागेका फियो सुन्निदै जाने, रक्त अल्पता नाश भै शरिरमा रगतको मात्रा कम हुदै जाने, निमोनिया जस्ता लक्षण देखा पर्ने, लामो समयसम्म उच्च ज्वरो आउने र शरिरका छाला कालो हुदै जाने लक्षण देखापर्ने बताए।
घरआँगन सफा राख्ने, सुत्दा झुल टाँगेर सुत्ने गरे यसको टोकाईबाट बच्न सकिने बताउँदै यो रोगलाई जनस्वास्थ्यकै सरोकारको रुपमा लिएर रोकथाम गर्न जरुरी रहेको मेसु गुरुङले बताए।
त्यस्तै सेती अञ्चल अस्पतालमा कार्यरत मेडिकल इर्न्चाज यशोदा ढकालले आ.व. २०७०/७१ र ०७१ /७२ मा समान ११ /११ जना कालाजारका विरामी भेटिएकोमा  चालु आर्थिक वर्षको १० महिनामा २५ जना कारलाजारका विरामीले उपचार गरेका बताईन। उनले सवैभन्दा बढी विरामी पहाडी जिल्लाबाट आउने गरेको समेत बताईन्।
मेडिकल ईन्चार्ज ढकालले उपचारका लागि आउने विरामीहरुलाई अस्पतालमा रहेको सामाजिक सेवा ईकाइ मार्फत विरामीहरुको निशुल्क उपचार गर्ने गरेको बताईन।
यसैगरि जिल्ला जनस्वास्थ्य कार्यालय कैलाली वरिष्ठ जनस्वास्थ्य प्रशासक जयबहादुर कार्कीले यो रोग सजिलैसंग एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले सबैले सचेत हुन जरुरी रहेको बताए। उनले उपचारका लागि आउने विरामीलाई आतेजाते खर्चको समेत व्यवस्था गरेको बताउँदै रोग लागेको शंका लागेमा तुरुन्त उपचारका लागि आउन आग्रग गरे।
सुदुरपश्चिमको पहाडी जिल्ला डोटीका केहि गाविसहरु तिखातर, बर्छेन र घाँघल लगायत कैलालीका केहि पहाडी गाविसहरुमा कालाजारका विरामीहरु फेला परेको अस्पतालले जानकारी दिएको छ।
कालाजारका विरामीको संख्यामा दिन प्रतिदिन बृद्धि भैरहदा सुदूरपश्चिममा देखा परेको कालाजार नियन्त्रण गर्न सरकारले यस क्षेत्रमा दिर्घकालिन कुनै पनि योजना नपारेकोमा आपत्ति जनाएका छन्। सेतोपाटीमा समाचार छ ।