निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका लागि देशैभर मतदान

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका लागि बुधबार देशैभर मतदान भएको छ । शाखा अधिकृत र त्यो भन्दा मुनीका ५५ हजार ३ सय २९ मतदातामाझबाट जिल्ला, विभाग र केन्द्र स्तरको नेतृत्व चयन हुँदैछ ।
प्रमुख निर्वाचन अधिकृत गिताप्रसाद तिमिल्सनाले देशैभरको १ सय २९ मतदान केन्द्रमा बिहान ९ बजेदेखि ५ बजेसम्म मतदान भएको बताए । उनले कुल मतदाताको करिब ८० प्रतिशत मत खसेको अनुमान गरे ।  देशैभर शान्तिपूर्ण ढंगले मतदान भएको छ,  उनले भने  आजै साँझबाट मतगणना प्रारम्भ गरिनेछ ।
निर्वाचनमा ७ वटा कर्मचारी संगठन प्रतिस्पर्धामा उत्रिएका छन् । दलैपिच्छे ट्रेड युनियन भएपछि आधिकारिक एउटा मात्र बनाउन सरकारले नै अग्रसरता लिएर निर्वाचन गराएको हो । पहिलोपल्ट आधिकारिक ट्रेड युनियनका लागि निर्वाचन भएको हो ।  निर्वाचनका कारण बुधबार निजामती कर्मचारीलाई बिदा दिइएको थियो । कान्तिपुरमा समाचार छ ।