यो वर्षको मनसुनमा गत वर्षभन्दा बढी वर्षा हुने विज्ञहरूले बताएका छन् । मनसुन अवधिमा पूर्वमा भन्दा पश्चिममा बढी वर्षा हुने पनि मौसमविद्हरूको प्रक्षेपण छ । कान्तिपुरमा समाचार छ ।
पूर्वी क्षेत्रमा भन्दा सुदूरपश्चिममा औसतभन्दा बढी मनसुनी वर्षा हुने अनुमान छ, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले बुधबार कान्तिपुरसित भने, अरू ठाउँमा सरदरमा जति वर्षा हुने हो त्यही अनुपातमा हुने देखिन्छ ।
पूर्वका केही पहाडी र तराईका जिल्लामा भने औसतभन्दा पनि कम वर्षा हुने मौसमविदको भनाइ छ । लामो समयदेखिको खडेरी हटदै गइरहेको र पूर्वतिर अझै त्यो हट्न समय लाग्ने भएकाले त्यसको असर पूर्वी क्षेत्रको मनसुनमा देखा पर्ने श्रेष्ठले बताए । महाशाखाका अर्का मौसमविद् बरुण पौडेलले आगामी मनसुन सुखद रहने बताए । ‘केही दिन ढिलो गरी सुरु हुने भए पनि अघिल्लो वर्षभन्दा बढी वषर्ा हुने देखिन्छ,’ पौडेलले भने, ‘अहिलेसम्मको सिस्टम हेर्दा राम्रो वषर्ा हुने देखिन्छ ।’ सामान्यतया नेपालमा जुन १० (जेठ अन्त्य) देखि मनसुन सुरु हुने भए पनि यो वर्ष पनि तीन/चार दिन ढिला हुने महाशाखाको अनुमान छ । गत वर्ष पनि तीन दिन ढिला गरी १३ जुनमा मनसुन भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार मनसुन अवधिभर गत वर्ष धेरैजसो भागमा औसतभन्दा पनि कम वषर्ा भएको थियो ।
केही दिनदेखि भइरहेको वर्षाचाहिँ पि्र-मनसुनी गतिविधि नै हो । गत वर्ष प्रशान्त महासागरको पूर्वी भूमध्यरेखीय क्षेत्रको सतहमा तापक्रम वृद्धि भएर ‘एलनिनो’को प्रभाव देखिएपछि दक्षिण एसियामै मनसुनी वषर्ा कम भएको थियो । हरेक ५ देखि ७ वर्षको अवधिमा एलनिनोको प्रभाव पर्छ । प्रशान्त महासागरमा एकै पटक तीनदेखि चार डिग्रीसम्म तापक्रम बढ्ने हुँदा त्यसको असर मनसुनमै परेको थियो ।
तर, यसै अपि्रलबाट एलनिनोको असर न्यून हुँदै गएका कारण यो वर्ष मनसुन राम्रो हुने आकलन गरिएको हो । श्रीलंकामा गत अपि्रलमा भएको दक्षिण एसियाली मुलुकका मौसमविद्हरूको संस्था ‘साउथ एसियन एसोसिएसन फर क्लाइमेट फोरम’ को सम्मेलनले पनि यो वर्ष दक्षिण एसियामा मनसुन राम्रो हुने अनुमान गरेको थियो ।
गत वर्षको मनसुनमा नेपालसहित भारत र पाकिस्तानमा पनि कम वर्षा भएको थियो । यस पटक अपि्रल अन्त्यदेखि पि्र-मनसुन सक्रिय भएकाले मनसुन सुखद हुने संकेत देखिएको मौसमविदको विश्लेषण छ । मौसमविद् श्रेष्ठका अनुसार मनसुनमा जलवाष्पयुक्त वायु बंगालको खाडी हुँदै पूर्वबाट पश्चिमतिर आउनुपर्छ । अहिले मनसुनी वायु दक्षिणभारतबाट बिस्तारै पूर्वतिर सर्ने क्रममा छ । ‘उक्त वायु घुमेर उत्तर पश्चिम हुँदै नेपालतिर आउँछ,’ श्रेष्ठले भने, ‘अनि मनसुन सुरु हुन्छ ।’ मनसुन पूर्वी मुलुकबाट भित्रिन्छ । सबैभन्दा अन्तिममा मनसुन पाकिस्तानमा प्रवेश गर्छ । वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार नेपालमा मनसुन सबैभन्दा छिटो ३१ मेमा र सबैभन्दा ढिलो जुन २३ मा सुरु भएको छ । सामान्यतया १ सय ५ दिनसम्म मनसुनी वर्षा हुन्छ । कान्तिपुरमा समाचार छ ।