व्यवस्थापिका-संसद्को आजको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्या र तिनको समाधानका लागि सदन र सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद कञ्चनचन्द्र बादे श्रेष्ठले हालैको ठूलो बाढीबाट काभ्रेका विभिन्न क्षेत्रका साथै बनेपासमेत प्रभावित भएको बताउँदै उक्त जिल्लामा नदी व्यवस्थापनमा सघाउन सरकारसँग आग्रह गरे।
सांसद रामहरि सुवेदीले पुनःनिर्माणका काम प्रभावकारी बनाउन र अनुदान रकम पाउन छुटेका, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले नाम छुटेकालाई अनुदान एवम् राहत प्रदानको सूचीमा समावेश गर्नुपर्नेमा जोड दिए।
त्यस्तै सांसद प्रेम सुवालले केही व्यक्तिले मध्यपुरथिमि नगरपालिका भएर बग्ने मनहरा खोला आफ्नो स्वार्थ बमोजिम फर्काउने प्रयास गरेकाले कारबाहीको माग गर्दै घरबास नहुँदा भूकम्पपीडितको बिचल्ली भएको दुःखेसो गरे।
सांसदद्वय रामहरि खतिवडा र हर्कबोल राईले ओखलढुङ्गामा बुधबार भएको ट्र्याक्टर दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई रु १० लाख दिन माग गरे। साथै भूकम्पपीडितले अझै राहत रकम नपाएकाले तत्काल त्यसको व्यवस्था गर्नुपर्नेमा जोड दिए।
त्यसअघि सांसद डिम्पलकुमारी झाले मधेस केन्द्रित एवम् आदिवासी जनजाति दल सम्बद्ध सांसदले आजको सदनको बैठक बहिष्कार गर्ने घोषणा गरिन्। उनको उक्त घोषणासँग सम्बद्ध दलका सांसद बैठक कक्षबाट बाहिरिएका थिए। सेतोपाटीमा समाचार छ ।