नारायणगढ- मुग्लिन सडकखण्ड पहिराका कारण पुनः अवरुद्ध

 चितवनको नारायणगढ- मुग्लिन सडकखण्ड खसेको पहिराका कारण पुनः अवरुद्ध भएको छ।  
 
चण्डिभन्ज्याङ-५ स्थित पाँच किलोमा पहिरो खसेर सडक बन्द भएको प्रहरीले जनाएको छ। गएराति २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक साढे ४ बजे खुलाइए पनि बिहान पाैने सात बजे पुनः पहिरो खसेर बन्द हुन पुगेको बताइएको छ। 
 
प्रहरीका अनुसार राति पहिरो खसेका बेला जनकपुरबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३८६२ नम्बरको  बसलाई पहिराबाट निकालिएको थियो । 
 
सडक खुलाउन डोजरको सहायतामा प्रहरी परिचालन गरिएको जनाइएको छ। नारायणगढ मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले सामान्य पानी पर्दा पनि विभिन्न क्षेत्रमा पहिरो गएर अवरुद्ध हुने गरेको छ। रासस