अज्ञात समुहद्वारा दाङ र सल्यानमा रहेका एनसेलका तीनवटा टावरमा आगजनी

अज्ञात समुहले दाङ र सल्यानमा रहेका एनसेलका तीनवटा टावरमा आगजनी गरेको छ।
 
लक्ष्मीपुर गाविसस्थित चौपट्टा र लमही नगरपालिका/४,श्रीगाउँमा रहेको एनसेलको टावरमा अज्ञात समुहले शनिवार बिहान आगजनी गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेम खड्काले जानकारी दिए।
 
यसैगरी शनिवार विहान ३ बजेतिर नै सल्यानको जैतपानीस्थित एनसेलको टावरमा पनि अज्ञात समुहले आगजनी गरेको छ। एकै साथ दाङका दुईवटा र सल्यानको एउटा एनसेल टावरमा आगजनी गरिएको छ।
 
एक कर्मचारीका अनुसार सल्यानको जैतपानी टावरमा भएको आगजनीवाट सबैभन्दा ठूलो क्षति भएको छ।
 
जैतपानीको टावरमा आगजनी भएपछि जाजरकोट, रुकुम लगायत जिल्लाका  ३५ भन्दा बढी टावर प्रभावित भएको ती कर्मचारीले जानकारी दिए। आगजनीवाट कति क्षति भएको छ भन्ने एकिन गर्न केही समय लाग्ने भएकोले प्राविधिकहरु आएर नहेर्दासम्म भन्न नसकिने ती कर्मचारीले बताए।
 
आगजनी गर्ने व्यक्तिहरुले टावरमा आगो लगाएपछि जेनेटरमा समेत आगो लगाएर क्षति पु-याएको उनले बताए। पछिल्लो समय एनसीएले राज्यलाई तिर्नुपर्ने पुरा कर नतिरेको भन्दै त्यसको आलोचना सुरु भएको थियो।
 
आगो कसले लगाएको भन्ने एकिन हुन सकेको छैन। सेतोपाटीमा समाचार छ ।