सरकारले राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक संसद्मा पेश गरेको छ ।
सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले व्यवस्थापिका संसद्को सोमबार बसेको बैठकमा विधेयक पेश गरे। विधेयक पेश गर्ने क्रममा मन्त्री रावलले राष्ट्रिय सुरक्षा परिषद्को काम कर्तव्य र अधिकार स्पष्ट पार्न तथा सबै सुरक्षा निकायलाई राष्ट्रिय सुरक्षा, मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डता, सीमा सुरक्षा लगायतका काममा समन्वायत्मक ढंगले काम गर्ने आधार तयार पार्न विधेयक पेश गरिएको बताए। उनले संविधानमा भएको व्यवस्था कार्यान्वयन गर्ने गरी विधेयक तयार पारिएको पनि बताए।
संविधानमा प्रधानमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय सुरक्षा परिषद्मा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने तथा परिषद् सम्बन्धी व्यवस्था संघीय कानून बमोजिम हुने उल्लेख छ ।
संस्द्मा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक पनि पेश भएको छ । उपप्रधानमन्त्री एवं महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सीपी मैनालीले विधेयक पेश गरे। ती दुवै विधेयक पेश गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदूर किसान पार्टीका सांसद्ले राखेको विरोधको सूचनालाई बैठकले वहुमतले अस्वीकृत गरेको थियो । सेतोपाटीमा समाचार छ ।