अविरल वर्षापछि गएको पहिरोमा परी प्युठानमा दुई परिवारका ८ जनाको मृत्यु

 अविरल वर्षापछि गएको पहिरोमा परी प्युठानमा दुई परिवारका ८ जनाको मृत्यु भएको छ ।
रजवारा र पूजा गाविसमा सोमबार राति गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको हो ।
पहिरोले घर पुरिँदा रजवारा गाविस-३ नेटाका दुर्गाबहादुर मल्ल, उनकी श्रीमती सीता, छोरीहरु सुशीला, लेखा र सिर्जनाको घटनास्थलमै मृत्यु भएको हो ।
छिमेकीको घरमा बस्न गएका छोरा बसन्त र अर्की एक छोरी भने जोगिएका छन् ।
त्यस्तै, पूजा गाविस-३ बाग्लीवाङमा गएको पहिरोमा हुमबहादुर सुनार, उनकी श्रीमती र ७ वर्षीया छोरीको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ ।
प्यूठानका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाल रेडक्रस सोसाइटीलगायतको टोली घटनास्थल रजवारामा पुगेको छ ।
यसैबीच, प्यूठानकै बलौरा-९ झिम्रुक नदीको किनारामा बाढीको भेलमा फसेका ८ जना कामदारको सकुशल उद्धार गरिएको छ ।
प्यूठान सरमुकामबाट गएका नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले उनीहरुले उद्धार गरेको हो ।