कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था स्थीर
आषाढ़ २२ गते, २०७३ मा प्रकाशित
अचानक बिरामी भइ अस्पताल भर्ना गरिएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर तर स्थीर रहेको छ ।
उनको राजधानीको चाबहिलस्थित ओम अस्पतालमा अचेत अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
अस्पतालको पछिल्लो रिपोर्टअनुसार कोइरालाको मिर्गौला र कलेजोमा समस्या रहेको छ भने रक्तचाप १००/५० रहेको छ ।
काठमाडौंमा उपलब्ध विशिष्ट चिकित्सकहरुलाईसमेत बोलाएर कोइरालाको उपचारमा संलग्न गराइएको छ ।
ओम अस्पतालका वरिष्ठ चिकित्सक लवनरसिंह जोशी, डा. भगवान कोइराला, डा. अर्जुन कार्कीसहित १५ जना चिकित्सक उपचारमा संलग्न रहेको डा. जोशीले बुधबार दिउँसो जानकारी दिए ।
२४ घन्टा नहेरी कोइरालाको स्वास्थ्य अवस्थाबारे केही भन्न नसकिने पनि डा. जोशीले बताए ।
खाना सर्किएपछि निमोनिया भएको र शरीरका सबै अंगले पूर्णरुपमा काम गर्न नसक्दा समस्या जटिल बनेको चिकित्सको भनाइ रहेको छ ।
उपचारका लागि विदेश लैजानेबारे छलफल भइरहे पनि त्यसको पनि टुंगो लागेको छैन ।
अचानक अस्वस्थ भएपछि कोइरालालाई मंगलबार बेलुकी ८ बजेतिर अस्पताल भर्ना गरिएको थियो ।