मानव तस्करीमा आफ्ना नेताहरुको संलग्नताबारे छानबिन गर्न माओवादीले बनायो समिति

 नेकपा माओवादी केन्द्रले आफ्ना ८ जना सांसद् मानव तस्करी र सरकारी कागजात कीर्ते गरेको अभियोगमा मुछिएपछि यसबारे यकिन गर्न छानविन समिति गठन गरेको छ ।
नेकपा माओवादी केन्द्रको बुधबार पार्टी मुख्यालयमा बसेको पोलिट्ब्युरो बैठकले अमिक शेरचनको संयोजकत्वमा कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भुषाल सदस्य रहेको छानविन समिति गठन गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सांसद्हरु गोमा कुँवर, सन्तकुमार थारु, डोरप्रसाद उपाध्याय, रुपा महर्जन, राममाया बोगटी, सिर्जना तरामु खत्री, दिलमाया धामी र धना पहरीमाथि स्पेन जान सरकारी पत्र नक्कली बनाइ अर्का एक एक व्यक्तिको नाम समेत थपेको अभियोगमा छानविन अगाडि बढाएपछि माओवादी केन्द्रले तीन सदस्यीय छानविन समिति गठन गरेको हो ।
संसद् सचिवालयको अन्र्तराष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको पत्रका आधारमा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले आठ जना सांसद्हरुलाई भिसा लगाइदिन सिफारिस गरेकामा दिल्लीस्थित स्पेनी दूतावासमा पेश गरिएको पत्रमा भने आठै सांसद्ले अन्य एक एक जनाको नाम थपेको फेला परेको छ। स्पेनी दूतावासले पत्रमाथि शंका लागेर कन्सुलर सेवा विभागसँग सोधेपछि माओवादीका ८ जना सांसद्को हर्कत वाहिर आएको हो ।
उनीहरुले स्पेनमा अलग अलग मितिमा हुने कार्यक्रममा सहभागीताका लागि भिसा आवेदन दिएका थिए । घटना सार्वजनिक भएपछि माओवादीका आठै जना सांसद् व्यवस्थापिका संसद्को बुधबारको बैठकमा अनुपस्थित रहे । पोलिट्ब्युरो बैठकमा बोल्ने नेताहरुले सांसद्हरुले सरकारी कागजात कीर्ते गरेको र मानव तस्करी गर्न खोजेको घटनाले पार्टीको नै बद्नाम भएको भन्दै कारवाहीको माग गरेपछि बैठकले छानविन समिति गठन गरेको हो। बैठकमा पार्टीको संगठन संरचना र निर्वाचन विधिका बारेमा छलफल भएपनि कुनै निर्णय नभएको प्रवक्ता पम्फा भुषालले बताइन्। बैठक विहिवारसम्मका लागि स्थगित भएको छ। सेतोपाटीमा समाचार छ ।