दोलखाका भूकम्पप्रभावितहरुको अवस्था झन् दयनीय बन्दै गएको छ ।
गत वर्ष गएको शक्तिशाली भूकम्पले अस्तव्यस्त बनाएर विस्थापित भएकाहरु अहिले बाढी, पहिरो र जुकाको त्रासमा जीवन बिताउन बाध्य छन् ।
दोलखाको उच्चपहाडी क्षेत्रमा बसोबास गर्नेदेखि तल्लो क्षेत्रमा बसोबास गर्ने भूकम्पपीडितलाई बर्खा लागेसँगै बाढी आउने र जुका लाग्ने डर बढ्दै गएको छ ।
अस्थायी टहरामा जीवन बिताइरहेका भूकम्पपीडितहरुलाई कहिले भान्सामै जुकाले डसेर रगताम्मे बनाएको हुन्छ भने त कहिले पहिरो आएर लैजान्छ भन्ने डर लागिरहेको हुन्छ ।
टहरामा बास बसेका दोलखाको उच्च भू-भागमा बसोबास गर्ने ३७ गाउँ विकास समितिका करिब ५० हजार जनसंख्या जुकादेखि जंगली जनावरसम्मको जोखिममा रहेका छन् ।
तल्लो क्षेत्रमा बसोबास गर्ने करिब ७० हजार पीडितहरु पनि पहिरोको उच्चजोखिममा बाँचिरहेका छन् ।
अस्थायी आवासमा बसोबास गर्नुपर्ने, वर्षाको पानीले निन्द्रा नपर्ने, पानी चुहिएर बिछ्यौना भिज्ने, भान्सामै स्याल पस्ने जस्ता पीडाहरु भोग्दै आएको पीडितहरुको गुनासो छ । इमेजखबरमा समाचार छ ।